images
images
  • विदेशी मुद्रा सञ्चिति ३९ खर्ब नाघ्यो, १८.८ महिनाको आयात धान्न सक्ने

    काठमाडौं – नेपालको बाह्य आर्थिक अवस्था थप बलियो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको तथ्याङ्कअनुसार मुलुकको विदेशी मुद्रा सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

    गत असार मसान्तको तुलनामा साउन मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १.२ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ८४ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

    हाल कायम विदेशी मुद्रा सञ्चितिले मुलुकको १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको छ । सामान्यतया तीनदेखि छ महिनाको आयात धान्न सक्ने सञ्चितिलाई पर्याप्त मानिने भए पनि नेपालमा यस्तो क्षमता करिब १९ महिनासम्म पुगेको हो ।

    विदेशी मुद्रा सञ्चिति बढ्नुमा विदेशमा रहेका नेपालीले पठाउने रकममा भएको उल्लेख्य वृद्धि मुख्य कारण देखिएको छ । साउनमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

    त्यस्तै, विदेशबाट प्राप्त हुने खुद दोस्रो आय २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। वैदेशिक रोजगारीका लागि अन्तिम तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि निरन्तर रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

    बाह्य क्षेत्रका अन्य सूचक पनि सकारात्मक देखिएका छन् । समीक्षा अवधिमा मुलुकको चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ बचतमा रहेको छ । त्यस्तै, समग्र शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको छ ।

    कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग ३५ खर्ब १७ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । अन्य बैंक तथा वित्तीय संस्थासँग ४ खर्ब २८ अर्ब २२ करोड रुपैयाँ बराबरको सञ्चिति रहेको छ ।

    कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    विदेशी मुद्रा सञ्चिति, विप्रेषण, चालु खाता र शोधनान्तर स्थितिमा आएको सुधारले नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको छ । आयात धान्ने क्षमता बढेसँगै विदेशी मुद्रा अभावको जोखिमसमेत घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images