काठमाठौं– ग्रेट वाल मोटर जिडब्ल्युएम नेपालको पोखरास्थित आधिकारिक डिलर रेज मोटर्स प्रालिले पोखराको उत्तमचोकमा नयाँ सोरूम सञ्चालनमा ल्याएको छ ।
नयाँ सोरूम सञ्चालनसँगै कम्पनीले ओरा ५ र हाभल जोलियन म्याक्स इभी पोखरा बजारमा सार्वजनिक गरेको छ । सोरूम उद्घाटन कार्यक्रममा कम्पनीका अधिकारी, स्थानीय प्रतिनिधि, अटोमोबाइल व्यवसायी तथा सञ्चारकर्मी सहभागी थिए ।
कम्पनीका अनुसार ओरा ५ मा ५८ दशमलव ३ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको छ। यसले विश्वव्यापी हल्का सवारी परीक्षण प्रक्रियाअनुसार ४३५ किलोमिटरसम्मको यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। गाडीमा २०० मिलिमिटरको भुइँबाट उचाइसँगै विभिन्न सुरक्षा तथा प्रविधियुक्त सुविधा छन् ।
त्यस्तै, हाभल जोलियन म्याक्स इभीमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर र ५८ दशमलव ३ किलोवाट घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ । यसले ४०० किलोमिटरभन्दा बढी यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।
जोलियन म्याक्स इभीमा पानोरामिक सनरुफ, १४ दशमलव ६ इन्चको सूचना तथा मनोरञ्जन प्रणाली, उन्नत चालक सहायता प्रणाली तथा सवारीबाट बाह्य उपकरणमा विद्युत् आपूर्ति गर्न सकिने सुविधा उपलब्ध छन् ।
उत्तमचोकस्थित नयाँ सोरूमबाट ग्राहकले बिक्री, मर्मतसम्भार र आवश्यक पार्टपुर्जासहितको सेवा एउटै स्थानबाट पाउने कम्पनीले जनाएको छ । सोरूममा जिडब्ल्युएमका विद्युतीय तथा प्रिमियम सवारीसाधन प्रदर्शनीमा राखिने छन् ।
रेज मोटर्सका अध्यक्ष अशोक चालिसेले पोखरामा जिडब्ल्युएम ब्रान्ड विस्तारसँगै बिक्रीपछिको सेवामा समेत ध्यान दिइने बताए ।
भिजी इम्पेक्सका महाप्रबन्धक–बिक्री तथा सञ्चालन अधिरकुमार श्रेष्ठले पोखरालाई जिडब्ल्युएमको विस्तारका लागि महत्वपूर्ण बजारका रूपमा लिइएको बताए। उनका अनुसार नयाँ सोरूमबाट पोखरा तथा आसपासका जिल्लाका ग्राहकले जिडब्ल्युएमका सवारीसाधन र सेवा सहज रूपमा पाउनेछन् ।
नयाँ सोरूम सञ्चालनमा आएसँगै ओरा ५ र हाभल जोलियन म्याक्स इभीको बुकिङ तथा परीक्षण सञ्चालन खुला गरिएको कम्पनीले जनाएको छ ।


विश्व खबर 



















