images
images
  • एमाले–नेकपा एकताको नयाँ गृहकार्य : विद्या अध्यक्ष, वर्षमानलाई महासचिव बनाउने प्रस्ताव

    काठमाडौं- नेकपा (एमाले) र नेकपाबीच पुनः सहकार्य हुँदै पार्टी एकतासम्म पुग्ने विषयमा आन्तरिक छलफल सुरु भएको छ ।

    दुवै दलका शीर्ष नेताहरू नयाँ परिस्थितिमा सहकार्यका लागि सकारात्मक देखिएपछि दोस्रो तहका नेताहरूबीच सम्भावित मोडालिटीबारे छलफल अघि बढेको नेताहरूले बताएका छन् ।

    बुधबार एमाले सचिव शेरधन राईले नेकपा नेता वर्षमान पुनसँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि एमाले–नेकपा सहकार्यबारे भइरहेको आन्तरिक छलफल थप चर्चामा आएको हो ।

    दुवै पक्षका नेताहरूका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ राजनीतिक परिस्थितिमा फेरि सहकार्य अघि बढाउने विषयमा सकारात्मक छन् ।

    यद्यपि, दोस्रो तहका नेताहरूबीच सहकार्य वा एकताको स्वरूपबारे अझै विस्तृत सहमति बनिसकेको छैन ।

    एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चलिरहेका बेला एमाले–नेकपा सहकार्यको विषय अघि आएको हो ।

    छलफलमा एमालेको संगठनात्मक विरासत र शक्ति संरचनाका आधारमा अध्यक्ष पद एमालेले पाउने तथा नयाँ नेतृत्वका रूपमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अघि सार्न सकिने प्रस्तावमाथि समेत कुराकानी भएको बताइएको छ ।

    वार्तालाई नजिकबाट हेरिरहेका एक नेताका अनुसार विद्या भण्डारी अध्यक्ष बन्ने अवस्था आए नेकपाबाट वर्षमान पुन वा सोही स्तरका नेतालाई महासचिवको जिम्मेवारी दिएर नयाँ महाधिवेशनतर्फ अघि बढ्ने मोडालिटीबारे छलफल भएको छ ।

    ‘संगठनको विरासत र बलका आधारमा अध्यक्ष एमालेले पाउने, त्यसो गर्दा ओलीजीको विकल्पमा विद्या भण्डारीजी आए नेकपाभित्र सकारात्मक वातावरण बनाउन दोस्रो पुस्ताका नेताहरूले भूमिका खेल्ने छलफल सुरु भयो,’ ती नेताले भने ।

    उनका अनुसार यस्तो संरचना अन्तरिम प्रकृतिको हुने र अन्ततः एकताको महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने विषयमा पनि छलफल भइरहेको छ ।

    यसैबीच एमाले महासचिव शंकर पोखरेलले मंगलबार पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए ।

    एमालेभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहेका बेला पोखरेल र भण्डारीबीच पार्टी पुनर्गठन तथा सम्भावित राजनीतिक विकल्पबारे छलफल भएको बताइएको छ ।

    छलफलमा एमाले र नेकपाबीच नयाँ आधारमा सहकार्य गर्दै क्रमशः एकतासम्म पुग्न सकिने सम्भावनाबारे समेत कुराकानी भएको स्रोतको दाबी छ ।

    एमाले स्रोतका अनुसार विद्या भण्डारीलाई अध्यक्ष बनाउने प्रस्तावमा नेकपातर्फबाट ठूलो आपत्ति नरहेको बुझाइ छ ।

    त्यस्तै, प्रचण्डले कार्यकारी नेतृत्वमा दाबी नगर्ने गरी अन्तरिम संरचना बनाएर नयाँ महाधिवेशनमा जाने विकल्पबारे पनि छलफल भइरहेको बताइएको छ ।

    यसअघि पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को दहचोकस्थित निवासमा समेत एमाले र नेकपाका केही नेताबीच भेटवार्ता भएको थियो ।

    हरितालिका तीजका अवसरमा भएको उक्त छलफलमा एमाले नेताहरू युवराज ज्ञवाली र प्रदीप ज्ञवाली तथा नेकपाका वर्षमान पुन र पम्फा भुसाललगायत सहभागी भएको स्रोतले जनाएको छ ।

    उक्त भेटमा पुनले एमाले र नेकपाबीच सहकार्यलाई थप घनिभूत बनाउन आग्रह गरेको बताइएको छ ।

    अहिलेको छलफलमा ओली र प्रचण्ड दुवैलाई कार्यकारी नेतृत्वबाट बाहिर राखेर उनीहरूलाई सर्वोच्च सल्लाहकारको भूमिकामा राख्ने प्रस्तावसमेत चर्चामा आएको स्रोतको दाबी छ ।

    एमाले–नेकपा सहकार्यको सम्भावनाबारे नेकपा नेता वर्षमान पुनले पनि छलफल सुरु भएको स्वीकार गरेका छन् ।

    ‘नेकपा र एमाले दुवैतर्फका शीर्ष नेताहरू एकता वा सहकार्यका लागि तयार देखिएका छन् ।

    मध्यम तहमा हामी कसरी जाने वा थप के गर्ने भन्नेमा छलफल गर्न बाँकी छ,’ पुनले भनेका छन्।

    एमाले र माओवादीबीच यसअघि २०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनअघि वाम गठबन्धन भएको थियो ।

    त्यसपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो ।

    तत्कालीन नेकपामा ओली र प्रचण्ड दुई अध्यक्ष बनेका थिए ।

    तर पार्टीभित्रको शक्ति संघर्ष, गुटगत विवाद र सरकार सञ्चालनको विषयमा देखिएको मतभेदका कारण नेकपाको एकता लामो समय टिक्न सकेन। सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएका थिए ।

    अहिले भने बदलिएको राजनीतिक परिस्थितिका कारण एमाले र नेकपाका नेताहरूबीच पुनः सहकार्यको सम्भावनाबारे छलफल भइरहेको हो ।

    विशेषगरी आगामी प्रदेश तथा स्थानीय तहका निर्वाचनलाई लक्षित गरेर वामपन्थी शक्तिहरूबीच सहकार्यको आवश्यकता महसुस गरिएको नेताहरूले बताएका छन् ।

    प्रदेश तहमा भने एमाले र नेकपाबीच सत्ता सहकार्यका अभ्याससमेत भइरहेका छन् ।

    कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारमा एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले नेतृत्व गर्ने सहमति कार्यान्वयनमा रहेको नेताहरूले बताएका छन् ।

    यद्यपि एमाले–नेकपा एकताको औपचारिक निर्णय भने भइसकेको छैन ।

    अहिलेको छलफल प्रारम्भिक चरणमा रहेको र नेतृत्व, संगठनात्मक संरचना तथा आगामी महाधिवेशनको स्वरूपबारे दोस्रो तहका नेताहरूबीच थप छलफल आवश्यक रहेको नेताहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images