काठमाडौं – सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका छन् । सो अवसरमा मन्त्री वाग्लेले भण्डारीलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थाको गरिमा कायम राख्न र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएका थिए ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले जम्मा गरेको निक्षेपको सुरक्षण गर्ने तथा कर्जाको सुरक्षणमार्फत वित्तीय पहुँच विस्तारमा सहयोग पुर्याउने काम गर्दै आएको छ ।
भण्डारीको नियुक्तिसँगै कोषको नेतृत्वमा नयाँ कार्यकाल सुरु हुने भएको छ । वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास कायम राख्ने र निक्षेप तथा कर्जा सुरक्षणसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउने जिम्मेवारी अब उनको काँधमा रहनेछ ।





















