काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की र उनकै ब्याचीसमेत रहेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीबीचको सम्बन्धमा तितो छाएको छ । आफूलाई अप्ठेरोमा परेको बेला केसीले साथ नदिएको भन्दै कार्की केसीसँग असन्तुष्ट छन् भने उनीपछि नेतृत्व हत्याउन केसीले अनेक चलखेल गरेको आरोप लागेको छ ।
गएको साता बसेको बैठकमा यी दुई प्रहरी उच्चाधिकारीबीच खटपट परेको संकेत आएको एक अधिकृतले बताए । प्रहरी प्रमुख कार्कीलाई विवादमा तान्न केसीसहित केही एआईजीले चलखेल गरेको आरोप छ । संगठनभित्रैबाट असहयोग भएको भन्दै कार्कीले गत बिहीबार नीति समन्वय समिति (पीसीसी) बैठकमा असन्तुष्टि पोखेको स्रोतले बतायो ।
बैठकमा एआईजी केसी र आईजीपी कार्कीबीच चर्काचर्की परेको थियो । बैठकमा अन्य एआईजीले भने व्यक्तिले गरेको गलत कामको भागीदार स्वयम् हुने भन्दै संगठनलाई नै बदनाम गर्नेगरी नेतृत्वविरुद्ध लाग्न नहुने तर्क गरेका थिए।
केसीले भने आईजीपीविरुद्ध भइरहेका गतिविधिबारे आफूलाई शंका गरिएको भन्दै असन्तुष्टि पोखेको बैठकमा सहभागी एक डीआईजीले जानकारी दिए ।
प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग आईजीपीले पनि संवाद गरेको म्यासेज फेला परेका छन् । तर ती म्यासेजमा कुनै मुद्दा-मामिलाका कुराकानी छैनन् । सामान्य विषयमा मात्रै उनीहरूबीच कुराकानी भएको बुझिएको छ । यही विषयलाई लिएर आफूलाई विवादमा तान्ने प्रयास भएको भन्दै आईजीपीले असन्तुष्टि जनाएका छन् ।
उक्त बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख रहेका डीआईजी र उपत्यकाभित्रका एसएसपीमाथिका सबै प्रहरी अधिकारीहरूलाई बोलाइएको थियो । बैठकमा अधिकांश प्रहरी उच्चाधिकारीहरूले आईजीपी कार्की र नेतृत्वको पक्षमा बोलेका थिए ।
केसीसहित दुई डीआईजीले भने आईजीपीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । पछिल्लो समय प्रहरीका उच्चाधिकारीहरूले एकअर्काविरुद्ध गरेका गतिविधि सार्वजनिक भइरहेका छन् ।
केसीले आईजीपी र अर्का एआईजी राजन अधिकारीलाई विवादमा तान्न बिचौलियासँग गरेको अडिओ संवाद सार्वजनिक गरेको आरोप छ । तर उक्त अडिओको आधिकारिकता परीक्षण भने भइसकेको छैन ।
नेतृत्वलाई बदनाम गराउन संगठनभित्रैबाट चलखेल बढेको भन्दै गत बिहीबार बसेको पीसीसी बैठकमा आईजीपी कार्कीले असन्तुष्टि पोखेका थिए । केही एआईजीले भने त्यस्ता अधिकारीलाई कारबाही गर्न भनेका थिए ।
उनको असन्तुष्टिपछि अपराध अनुसन्धान विभागका प्रमुख रहेका एआईजी केसीले प्रतिवाद गरेका थिए । कार्कीलाई हटाएर आफू आईजीपी बन्न केसीले चलखेल गरेको आरोप छ । आफूमाथिको आरोपको केसीले उक्त बैठकमा खण्डन गरेका थिए ।
आईजीपी कार्की र एआईजी केसी एउटै ब्याचका हुन् । अर्का एआईजी राजन अधिकारी र ईश्वर कार्की पनि उनीहरूकै ब्याचका हुन् । पहिलो वरीयताका एआईजी राजन अधिकारी भए पनि उनलाई समेत बिचौलिया इनम सापकोटासँग संवाद गरेकै कारण विवादित बनाउन खोजिएको छ ।
यता ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी भने अनिवार्य अवकाशमा जाने भएका छन् । वि.सं. २०५३ पुस ५ गते भर्ना भएको टोलीका प्रहरी अधिकारीहरू ३० वर्षे सेवा अवधिका कारण आगामी पुस ५ गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन् ।
उनीहरूलाई यसअघि नै उक्त मितिमा अवकाश हुने जानकारी गराइसकिएको छ । प्रहरी किताबखानाले अवकाशको एक महिना पहिले नै अवकाश हुने पत्र समेत बुझाउनेछ । अबको केही दिनमै उनीहरूले अवकाशको पत्र बुझ्नेछन् ।
अवकाश हुने एआईजीहरूमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन् । शाह प्रदेश समन्वय विभागमा कार्यरत छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख राठौर र सीआईबी प्रमुख चतुर्वेदी पनि अवकाशमा जाँदैछन् ।
कार्यविभागका प्रमुख हिमालयकुमार श्रेष्ठ र प्रशासन विभाग प्रमुख डम्बरबहादुर विक पनि अवकाशको मुखमा छन् । नेपाल प्रहरीमा प्राविधिक १ बाहेक ८ एआईजीको दरबन्दी छ । तीमध्ये पुस ५ गतेबाट ३ जना मात्रै रहनेछन् ।






















