काठमाडौ– सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बिचौलिया इनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि प्रहरीको विशेष ब्यूरोले उनलाई असोज १४ मा पक्राउ गरेको थियो ।
यो बिचमा उनको बयानका आधारमा धेरैसँग कनेक्सन भएको समाचार आइरहेका छन् । उनको बयान भन्दै धेरै कुरा बाहिर आउँदा पनि सरकारले यसको आधिकारिकतामा केही बोलेको छैन । पछिल्लो पल्ट उनको कनेक्सन कांग्रेसको आधिरिकतासँग जोडिएको समाचार बाहिर आएका छन् । सार्वजनिक रुपमा उनले प्रहरीका दिएको भनिएको बयान अनुसार कांग्रेसको आधिकारिकताका लागि उनले १८ करोड खर्च गरेको उल्लेख छ। त्यसैगरी अदालतबाट गगन थापा नेतृत्वलाई बैधानिकता दिनका लागि ३ करोड खर्च गरेको समाचार प्रकाशमा आएको छ।े समाचार अनु्सार सर्वोच्चका न्यायाधीश सारंगा सुवेदीलाई यस सम्बन्धमा आदेश गराउन ३ करोड बुझाएको उल्लेख छ । बैशाख ४ गते न्यायाधीशहरू सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले थापा पक्षलाई आधिकारिकता दिने आदेश गरेको थियो ।
तर नेपाली कांग्रेसले भने आधिकारिकतामा यस्ता डिल भएको भन्ने समाचारको प्रतिवाद गरेको छ। सो समाचार प्रकाशन भए लगतै सभापति गगन थापाको सचिवालयले सोमबार एक विज्ञप्ति जारी गदै त्यसलाई निराधार भएको भन्दै प्रतिवाद गरेको छ।
कांग्रेसका एक नेताका अनु्सार अहिलेको इनम बयान प्रकरण विपक्षी दलका नेताहरुको तेजोबोध गर्नका लागि प्रयोग गरिएको छ। उनी भन्छन् – सरकारका आलोचक र विरोधीको तेजोबध गर्नका लागि इनम सापकोटाको बयानको हवला दिइएको छ। उनका अनुसार इनम सापकोटोको सेटिङ नै बालुवाटारमा छ, उनले दिएको भनिएको बयानको आधिकारिकता के हो ? यो किन र कहिले सम्म आधिकारिक रुपमा सार्बजनिक हुदैन?
अदालतमा विचाराधीन व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको आशङ्कामा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको निर्देशनमा असोज ११ मा पूर्वप्रधान न्यायाधीश चोलेन्द्र पक्राउ परेका थिए, तर मुद्दा चलाउन मिल्ने प्रमाण नभेटिएपछि उनी रिहा भए ।
चोलेन्द्र निकट ‘बिचौलिया’को रूपमा चिनिएका इनमसँग प्रहरीले बयान लिइरहेको छ । पक्राउ गरेपछि विशेष ब्यूरोका प्रहरी अधिकृतहरूले पनि उनीसँग सोधपुछ गरिरहेका छन् । सोधपुछका क्रममा इनमले आफूलाई चोलेन्द्रले ‘युज’ (प्रयोग) गरेको जिकिर गरेका छन् । प्रहरी अधिकृतहरूसँग उनले भनेका छन्, ‘चोलेन्द्र श्रीमान् र उहाँको टिमले मलाई युज गरेको हो ।’दैनिक डिल गर्न सक्दिनँ । तिमी तिनीहरूलाई गएर भेट भन्नुभएको हो ।’
नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष एवं केन्द्रीय सदस्य उमेश श्रेष्ठसँग जग्गाको विषयामा इनमको कुरा भएको ह्वाट्एप म्यासेजमा भेटिएको छ । श्रेष्ठले लालपुर्जाको फोटो उनलाई ह्वाट्स एपमा सेयर गरेका छन् । श्रेष्ठको जग्गा आफ्ना नाममा लिने प्रक्रिया अघि बढेको इनमले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार उनीहरूको बिचमा चेकको फोटो पनि सेयर गरेको भेटिएको छ ।
प्रधानमन्त्रीको बिशेष दूत भएर इनमले होटल हिमालयमा भेटेको न्यायाधीश हरि फुयालले स्वीकार गरेका छन् ।
न्यायाधीश फुयालले इनम सापकोटासँग ललितपुरको होटल हिमालयमा भेट भएको स्वीकार गरेका छन्। तर, उनले उक्त भेट एक्लै नभएर सर्वोच्च अदालतका अन्य ५ देखि ७ जना न्यायाधीशहरू र केही प्रशासकहरूको सामूहिक उपस्थितिमा भएको दाबी गरेका छन्। ति न्यायाधीश र प्रशासक को थिए? अहिले सम्म नाम सार्बजनिक भएको छैन।
फुयालका अनुसार इनम सापकोटाले आफूलाई प्रधानमन्त्री बालेन शाहको विशेष प्रतिनिधि र अमेरिकी दूतावाससँग निकट सम्बन्ध भएको व्यक्तिका रूपमा चिनाएका थिए। तत्कालीन समयमा प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्ति र न्यायाधीशहरूमाथि महाभियोग लाग्न सक्ने हल्ला र त्रास चलिरहेका बेला, सापकोटाले “प्रधानमन्त्रीको तर्फबाट विशेष सन्देश छ, तपाईंहरूलाई महाभियोगको खतरा छैन“ भन्दै आश्वस्त पार्न खोजेपछि आफूहरूले भेटेको फुयालको भनाइ थियो ।
सापकोटाको यो भनाईले इनम सापकोटा अहिले कसका लागि काम गरिरहेका छन? कसको निर्देशनमा बयान दिइरहेका छन? र त्यो बयान कसले सार्वजनिक गरिरहेको छ भन्नेमा प्रश्न उठेको छ।
राजनीतिक विश्लेशक मुमाराम खनाल व्याङग गर्छन –सबै ’फरक’ भयो। तर बिचौलियामा ’फरक’ किन नगर्ने? त्यसैले बालेन्द्रका बिचौलिया र अरु बिचौलियामा फरक छ। किनकि अरु ’बिचौलिया’ देश लुट्न आएका हुन्, तर बालेन्द्रका बिचौलिया ’देश बनाउन’ आएका हुन्।






















