काठमाडौं – परिवारभित्रको झैझगडा, अभिभावकको बेवास्ता र माया–ममताको अभावले बालबालिका घर छोड्न बाध्य भइरहेका छन् । परिवारबाट भावनात्मक साथ नपाएका कतिपय बालबालिका सामाजिक सञ्जाल र अपरिचित व्यक्तिको प्रलोभनमा परी बालश्रम, यौन शोषण तथा मानव बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।
आमाबुबाबीचको निरन्तर झगडाबाट दिक्क भएकी एक बालिका परिवारको माया र स्नेह खोज्दै फेसबुकमार्फत साथीको सम्पर्कमा पुगिन् । तर, सामाजिक सञ्जालबाट भेटिएको त्यही साथीले उनलाई भारतसम्म पुर्याउने र त्यहाँको बिहारस्थित एउटा कोठामा बन्दी बनाउने अवस्था सिर्जना गर्यो । ‘साथसाथ’ संस्थाले उद्धार गरी नेपाल ल्याएपछि उनी परिवारमा पुनः जोडिएकी छन् ।
आफूले भोगेको पीडा अरू बालबालिकाले भोग्न नपरोस् भन्ने चाहना व्यक्त गर्दै उनले भनिन्, “मैलेजस्तै मायाको प्रलोभनमा परी घर छोडेर कुनै बालबालिका कतै जान नपरोस् ।” यस्तो अवस्था आउन नदिन अभिभावक सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
उनको उद्धारमा संलग्न अधिवक्ता रसना ढकालका अनुसार परिवारबाट माया, हेरचाह र संरक्षण नपाउँदा कतिपय बालबालिका मानव बेचबिखनको जोखिमपूर्ण चक्रमा फस्ने गरेका छन् । विशेषगरी बालिकामाथि हुने यौन शोषण र बेचबिखनको जोखिम गम्भीर रहेको उनले बताइन् । ‘साथसाथ’ संस्थाले यस वर्ष दुई जना बालबालिकालाई बेचबिखन हुनबाट जोगाएर परिवारसँग पुनर्मिलन गराएको जनाएको छ ।
संस्थाकी अध्यक्ष सुचिता शाहका अनुसार परिवारको माया र संरक्षण नपाएका कतिपय बालबालिका सडकमा पुग्ने गरेका छन् । नेपालमा पाँच हजारभन्दा बढी बालबालिका सडकमा बसोबास गर्ने र जीविकोपार्जनका लागि काम गर्नुपर्ने अवस्थामा रहेको उनले बताइन् । सडकमा रहेका बालबालिका बालश्रमका निकृष्ट स्वरूप तथा विभिन्न प्रकारका शोषण र बेचबिखनको उच्च जोखिममा पर्ने उनको भनाइ छ ।
कञ्चनपुर हुँदै भारततर्फ जान लागेकी अर्की एक बालिकालाई पनि संस्थाले बीच बाटोबाट उद्धार गरेको अध्यक्ष शाहले जानकारी दिए। घर छोड्नुको कारण बुझ्दा बालबालिकाले परिवारमा आमाबुबाको माया, हेरचाह र स्नेह नपाएको गुनासो गर्ने गरेको उनले बताइन् । पछिल्लो समय अभिभावकले बालबालिकालाई पर्याप्त समय दिन नसक्नु र सामाजिक सञ्जालमार्फत हुने डिजिटल प्रलोभनले पनि उनीहरू घर छोड्ने जोखिम बढाएको उनको भनाइ छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कले पनि बालबालिका हराउने, जोखिममा पर्ने र उद्धार गर्नुपर्ने अवस्थाको सङ्ख्या उल्लेख्य रहेको देखाउँछ । मन्त्रालयका अनुसार देशभर हराएका पाँच हजार ६९ जना बालबालिकाको खोजतलास गरिएकोमा चार हजार ४५६ जना फेला परेका छन् । फेला परेकामध्ये एक हजार २१० बालक र तीन हजार २४६ बालिका छन् । उनीहरूलाई परिवारसँग पुनर्मिलन गराइएको ।
त्यस्तै, बेवारिसे अवस्थामा फेला परेका १८४ बालबालिकालाई उद्धार गरी परिवारको खोजी गरिएको थियो। तीमध्ये १०७ जनाको परिवार पहिचान गरी पुनर्मिलन गराइएको छ भने परिवार पहिचान हुन नसकेका ७७ जनालाई बालगृहमा अस्थायी संरक्षण सेवा प्रदान गरिएको छ ।
मन्त्रालयको विवरणअनुसार ११५ जना सडक बालबालिकाको उद्धार तथा संरक्षण व्यवस्थापन गरिएको छ । तीमध्ये ३१ जनाको परिवार पहिचान गरी पुनर्मिलन गराइएको छ भने ८४ जनालाई अस्थायी संरक्षणमा राखिएको छ। हिंसा तथा जोखिममा परेका ५२८ बालबालिकाको तत्काल उद्धार तथा पुनःस्थापना गरिएको छ ।
यस अवधिमा पाँच हजार ८८० बालबालिकालाई बाल हेल्पलाइनमार्फत मनोसामाजिक परामर्श, कानुनी परामर्श तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। बालगृह सञ्चालनतर्फ १० वटा संस्थालाई अनुमति प्रदान गरिएको र २६ वटा बालगृहको सञ्चालन अनुमति नवीकरण गरिएको छ ।
सशस्त्र प्रहरी बल, प्रधान कार्यालयको वर्ष २०८२ को तथ्याङ्कअनुसार मानव बेचबिखन तथा ओसारपसारबाट १०५ जना बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११ जना बालक र ९४ जना बालिका छन् । त्यस्तै, लागुऔषध प्रयोग तथा ओसारपसारबाट पीडित भएका वा उद्धार तथा नियन्त्रणमा लिइएका ३१ जना बालबालिका रहेको तथ्याङ्कमा उल्लेख छ ।






















