काठमाडौं – सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउँदैछ ।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार यसपटक करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ। उनले अभिभावकलाई आफ्ना बालबालिकालाई पायक पर्ने स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लगेर औषधि खुवाउन आग्रह गरेका छन् ।
कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा दुई चरणमा भिटामिन ‘ए’ तथा जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ ।
बालबालिकामा भिटामिन ‘ए’ को कमी, कुपोषण तथा जुकाका कारण हुन सक्ने स्वास्थ्य समस्याको जोखिम घटाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुँदै आएको हो । नेपालमा विसं २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र विसं २०५६ देखि जुकाको औषधि नियमित रूपमा खुवाउन थालिएको हो ।























