काठमाडौं – सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म २ लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको तथ्यांक सार्वजनिक भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमका अनुसार यस अवधिमा सार्क राष्ट्रबाट २ लाख ६२ हजार १२ जना र अन्य राष्ट्रबाट २८ हजार २७५ जना पर्यटक मुस्ताङ पुगेका छन् ।
एक्याप कार्यालयका प्रमुख राजेश गुप्तका अनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म मुस्ताङमा १ लाख ६१ हजार १४१ जना विदेशी पर्यटक आएका थिए । सन् २०२६ का दुई महिना बाँकी रहँदै गत वर्षको तुलनामा पर्यटक आगमन उल्लेख्य बढेको उनले बताए ।
एक्यापको तथ्यांकअनुसार सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । गुप्तका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या ९७ प्रतिशतले बढेको छ । यसमा अधिकांश भारतीय पर्यटक रहेको एक्यापले जनाएको छ । मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने भारतीय पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको कार्यालयको भनाइ छ ।
अन्य राष्ट्रबाट आउने पर्यटकको हकमा भने अघिल्लो वर्षको तुलनामा कमी आएको एक्यापले जनाएको छ । सन् २०२५ मा अन्य राष्ट्रबाट २३ हजार ६०४ जना पर्यटक मुस्ताङ पुगेकोमा यस वर्षको १० महिनामा २८ हजार २७५ जना पुगेको तथ्यांक छ । यस समूहमा राउण्ड अन्नपूर्ण पदमार्ग हुँदै मनाङबाट थोरङ्ला पास पार गरेर मुस्ताङ प्रवेश गर्ने पर्यटकसमेत पर्छन् ।
यस वर्ष रसुवागढीमा आएको विनाशकारी बाढी, जोमसोम–कोरला सडक अवरुद्ध हुनु, हवाई सेवा स्थगित हुनु तथा प्रतिकूल मौसमका कारण मुस्ताङको पर्यटनमा आंशिक असर परेको थियो । यद्यपि पर्यटक आगमनमा वृद्धि भएको एक्यापको भनाइ छ ।
नोभेम्बर र डिसेम्बर गरी दुई महिना बाँकी रहेकाले यस वर्ष पर्यटक सङ्ख्या गत वर्षभन्दा कम नहुने गुप्तले बताएका छन् ।






















