काठमाडौं– भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन पेश गरिएको छ ।
नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रममा उनले भने, ‘बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्रमा पर्यटन पूर्वाधार, होटेल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ ।’
प्रतिवेदन अनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटेल व्यवसायमा भएको प्रारम्भिक आकलन गरिएको छ । होटेल क्षेत्रमा १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार, वैदेशिक पर्यटन आम्दानीमा १४ अर्ब ६० करोड २४ लाख ६४ हजार तथा मानवबल एवम् पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधनतर्फ १ अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्टतर्फ १ अर्ब ३८ करोड ५० लाख २० हजार र लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ १ अर्ब २७ करोड ६४ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ ।
आन्तरिक पर्यटन राजस्वमा १९ करोड ८७ लाख, राफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा ५ करोड बराबरको प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
बाढी तथा पहिरोमा १ हजार ११७ जना नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३१० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन् । हालसम्म ७९४ जना सम्पर्कविहीन रहेकोमा ६०६ जना विदेशी र १८८ जना नेपाली रहेको जनाइएको छ । उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला छन् ।


विश्व खबर 



















