काठमाडौं– आफूलाई अन्यायपूर्वक हटाइएको भन्दै सरकारको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्कीको रिट बिहीबार दर्ता भएन । सो रिट दर्ता गर्न कार्कीले बिहीबार नै आफ्ना वारेसलाई सर्वोच्च पठाएका थिए ।
कार्कीको वारेस लिएर अधिवक्ता टीका कुँवर दिनभरि सर्वोच्चमा दर्ता कुरेर बसे । सर्वोच्चमा रजिष्ट्रार नभएको भन्दै उनलाई कुराइएको थियो ।
रजिष्ट्रार दिउँसो १ बजे सर्वोच्चमा आइपुगे पनि रिट दर्ता भएन । रजिष्ट्रारले रिट निवेदन अध्ययन गर्ने भन्दै बिहीबार दर्ता नगरी वारेसलाई फिर्ता पठाइदिए ।
अन्ततः शुक्रबार रिट दर्ता भयो । तर अदालतको इतिहासमा रिट दर्ता यसरी झुलेको यो पहिलो घटना भएको कानुनविद्हरु बताउँछन् ।
न्यायपालिकामा कार्यपालिकाको प्रभाव परेको मनोविज्ञानका रुपमा यो घटनालाई तुलना गर्न थालिएको छ ।
यसैबीच रिटको पेशी कार्तिक ३० गतेलाई तोकिएको छ । कार्कीका वारेस अधिवक्ता कुँवरका अनुसार रिटको सुनुवाइको लागि कार्तिक ३० गतेलाई पेशी तोकिएको हो ।



















