काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुधबार पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
धरौटी रकम बुझाएर रिहा भएका अग्रवाललाई बुधबार आफ्नै निवासबाट पक्राउ गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले उनलाई आज अदालत उपस्थित गराइएको थियो ।
अग्रवालले अदालतले मागेको धरौटी प्राविधिक कारणवश बुधबार बुझाउन नसकेकाले थुनामा बसेको जबराले बताए । बिहीबार धरौटी बुझाएपछि रिहाइ भइसकेको जानकारी उनले दिए ।
सेयर कारोबारमा अनियमितता, कृत्रिम रूपमा सेयरको मूल्य बढाएको तथा लगानीकर्तालाई भ्रामक सूचना दिएको आरोपमा उनीमाथि यसअघि पनि अनुसन्धान हुँदै आएको थियो।
अग्रवाल यसअघि पटक-पटक प्रहरीको अनुसन्धानमा तानिएका व्यक्ति हुन्। २०८२ साउनमा ठगी तथा विश्वासघातको आरोपमा उनलाई काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरिएको थियो।
त्यसबेला एक लगानीकर्ताले सेयर उपलब्ध गराउने भन्दै अग्रवालले आफूबाट ६ करोड ४५ लाख रुपैयाँभन्दा बढी रकम लिएको तर न सेयर उपलब्ध गराएको न रकम फिर्ता गरेको आरोप लगाएका थिए।
यसबाहेक उनीमाथि विभिन्न लगानीकर्ता तथा ब्रोकर कम्पनीसँग करिब २२ करोड रुपैयाँ ठगी गरेको आरोपसमेत सार्वजनिक भएको थियो।
त्यसपछि २०८२ पुस ४ गते पनि सीआईबीले उनलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेको थियो।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी भ्रामक सूचना सार्वजनिक गरेर उच्च मूल्यमा बिक्री गरेको र यसबाट करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ गैरकानुनी नाफा आर्जन गरेको आरोप लागेको थियो।
त्यस्तै आफन्त तथा सम्बन्धित संस्थाका नाममा रहेका ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खातामार्फत वास्तविक स्वामित्व परिवर्तन नभई आपसी खरिद–बिक्री गरेको र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोपसमेत उनीमाथि लागेको थियो।
२०८३ भदौमा सीआईबीले अनुसन्धानका क्रममा अग्रवाल, उनका परिवारका सदस्य तथा व्यावसायिक साझेदारसँग सम्बन्धित बैंक खाता र सेयर खातासमेत रोक्का गरेको समाचार सार्वजनिक भएको थियो।
उनीमाथि सेयर बजारमा कृत्रिम मूल्यवृद्धि, झुटो कारोबार तथा सम्भावित सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा समेत अनुसन्धान भइरहेको विवरण सार्वजनिक भएको थियो।





















