काठमाडौ –प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था र चाडपर्वका बेला अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।
बैठकमा चाडपर्वका बेला नागरिकको जीउधनको सुरक्षा, अपराध नियन्त्रण तथा मुलुकको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ।
प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
प्रतिपक्षी दलहरूले विभिन्न माग राखेर आन्दोलनको तयारी गरिरहेको बेला प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरु सँग छलफल गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यूले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उहाँले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ।
नेपाली कांग्रेसले यस विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ। बैठकबाट सरकारका पछिल्ला गतिविधि र समग्र राजनीतिक परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्ने तयारी छ।
तिहार लगतै नेकपा एमाले , नेकपा र नेपाली कांग्रेसले आन्दोलन गर्ने घोषणा गरिसकेका छन् ।





















