images
images
  • मुद्रास्फीति बढेपछि बेलायतमा ब्याजदर बढाउने तयारी

    काठमाडौं– ऊर्जा लागतमा भएको तीव्र वृद्धिले मुद्रास्फीति बढाएपछि बैंक अफ इङ्गल्यान्डले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक बिहीबार ब्याजदर बढाउने तयारी गरेको छ । बैंकले आधार ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएर ४ प्रतिशत पुर्‍याउने अपेक्षा गरिएको छ ।

    अमेरिका–इरान युद्ध र युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरेका आक्रमणका कारण ऊर्जा आपूर्तिमा अवरोध हुँदा विश्व बजारमा डिजेलको मूल्य उच्च बिन्दुमा पुगेको छ । यसले उपभोक्ता मूल्यमा थप दबाब सिर्जना गरेको छ ।

    बैंकले सन् २०२३ अगस्टमा अन्तिम पटक ब्याजदर बढाएको थियो भने गत डिसेम्बरदेखि दर ३.७५ प्रतिशतमा कायम राखेको थियो । पछिल्लो सरकारी तथ्याङ्कअनुसार बेलायतको वार्षिक मुद्रास्फीति दर सेप्टेम्बरमा बढेर ३.५ प्रतिशत पुगेको छ ।

    ऊर्जा बिलमा भएको वृद्धिले लाखौं बेलायती परिवार प्रभावित भएका छन् । सरकारले वार्षिक बजेटमार्फत केही राहत घोषणा गरे पनि नयाँ वर्षमा मुद्रास्फीति करिब ४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

    एजे बेलकी वित्तीय विश्लेषण प्रमुख ड्यानी ह्युसनले मध्यपूर्वको द्वन्द्वका कारण मूल्यवृद्धिको चिन्ताले उपभोक्ताको विश्वास कमजोर बनाएको बताएकी छन् ।

    बैंकले ब्याजदरसम्बन्धी निर्णयसँगै बेलायतको आर्थिक वृद्धि र मुद्रास्फीतिसम्बन्धी नयाँ प्रक्षेपण पनि सार्वजनिक गर्नेछ । नोमुराका विश्लेषक जर्ज बक्लेले ऊर्जा मूल्य उच्च रहेकाले बैंकले निकट भविष्यको मुद्रास्फीति र आर्थिक वृद्धिको अनुमान बढाउन सक्ने बताएका छन् ।

    यसअघि अस्ट्रेलियाको केन्द्रीय बैंकले पनि मध्यपूर्वको लामो द्वन्द्व र निरन्तर मुद्रास्फीतिको दबाबलाई कारण देखाउँदै मङ्गलबार ब्याजदर बढाएर १८ वर्षयताकै उच्च ४.८५ प्रतिशत पुर्‍याएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images