काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले घटेको छ ।
कम्पनीले चालू आर्थिक वर्षको असोज मसान्तसम्म २५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३० करोड रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार कम्पनीको नाफा ४ करोड ७७ लाख रुपैयाँले घटेको हो ।
सञ्चालन आम्दानीमा भने वृद्धि
नाफामा गिरावट आए पनि कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ३७ लाख रुपैयाँ थियो ।
यसअनुसार कम्पनीको सञ्चालन आम्दानी करिब १२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी भने घटेको छ । गत वर्षको पहिलो त्रैमासमा २ करोड ६२ लाख रुपैयाँ रहेको अन्य आम्दानी चालू आर्थिक वर्षको सोही अवधिमा घटेर २ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ ।
कच्चा पदार्थ र अन्य खर्च बढ्यो
कम्पनीको सञ्चालन आम्दानी बढे पनि उत्पादन तथा सञ्चालन खर्चमा भएको वृद्धिले नाफामा दबाब परेको देखिन्छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कच्चा पदार्थ उपभोग खर्च १ अर्ब ३० करोड २० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ७ करोड १ लाख रुपैयाँ थियो ।
त्यस्तै, कर्मचारी खर्च पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १७ करोड ५८ लाख रुपैयाँ रहेको कर्मचारी खर्च चालू आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १८ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको अन्य खर्चसमेत बढेर ३४ करोड १३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च ३२ करोड २१ लाख रुपैयाँ थियो ।
कुल खर्च १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी
कम्पनीको कुल खर्च चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९२ करोड २९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल खर्च १ अर्ब ६६ करोड १ लाख रुपैयाँ थियो।
यसरी सञ्चालन आम्दानीमा वृद्धि भए पनि कच्चा पदार्थ, कर्मचारी तथा अन्य खर्च बढ्दा कम्पनीको खुद नाफा घटेको वित्तीय विवरणले देखाउँछ ।
९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २७ करोड ५६ लाख रुपैयाँ रहेको छ ।





















