काठमाडौं– रुसले इरानमाथि अमेरिकाले पुनः सैन्य आक्रमण गर्न सक्ने संकेत देखिएको भन्दै त्यसलाई ‘अत्यन्त चिन्ताजनक’ भनेको छ। रुसले स्ट्रेट अफ होर्मुजमा पनि चाँडै सामान्य अवस्था फर्किने आशा व्यक्त गरेको छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पछिल्ला महिनाहरूको दुःखद अनुभवले इरानमाथि गरिएका सैन्य गतिविधिबाट त्यहाँका जनताको आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्ने इच्छाशक्ति कमजोर पार्न नसकेको बताइन्।
उनले भनिन्, ‘इरानमा मृत्यु र विनाश निम्त्याउने सैन्य दुस्साहसले त्यहाँका जनताको आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्ने इच्छाशक्ति तोड्न सक्दैन भन्ने कुरा पछिल्ला महिनाहरूको दुःखद अनुभवले देखाएको छ। अहिले फेरि नयाँ आक्रमणको धम्की दिइरहेकाहरूले यसबारे विचार गर्नुपर्छ।’
जाखारोभाले शान्ति प्रक्रियालाई अघि बढाउन कूटनीतिक प्रयास तीव्र पार्नुपर्ने र मध्यस्थकर्ताहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिइन्।
रुस शान्ति प्रक्रियामा दुवै पक्षलाई स्वीकार्य हुने समाधान खोज्न र त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्न तयार रहेको पनि उनले बताइन्।
उनले भनिन्, ‘होर्मुज जलडमरुमा चाँडै सामान्य अवस्था फर्किने हाम्रो आशा छ। यस क्रममा जलडमरु आसपासका देशहरूको वैध हित र विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण यस जलमार्गलाई निर्बाध तथा सुरक्षित रूपमा प्रयोग गर्न चाहने अन्य मुलुकहरूको हितलाई पनि ध्यान दिनुपर्छ।’
जाखारोभाले इरानमाथि अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीलाई गैरकानुनी भन्दै त्यसबाट इरानसमेत प्रभावित भइरहेको बताइन्।
यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले अक्टोबर २५ यता होर्मुज जलडमरुमा नौवहन नियम उल्लंघन गरेको आरोप लागेका ११ वटा तेल ट्यांकरमा आगलागी भएको जनाएको छ। तीमध्ये केही ट्यांकर पछि डुबेको पनि नौसेनाको दाबी छ।
नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार रणनीतिक महत्त्वको होर्मुज जलडमरुमा अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का प्रमुख एडमिरल ब्राड कुपरले भ्रमण गरेको नौ दिनभित्र यी घटना भएका हुन्।
अमेरिकी सेनाको केन्द्रीय कमान्डले भने कुपरको भ्रमणका क्रममा उनले अमेरिकी सेनाको सीएच–४७ चिनुक हेलिकोप्टरबाट अन्तर्राष्ट्रिय जलक्षेत्रको हवाई निरीक्षण गरेको जनाएको छ। भ्रमणका क्रममा उनले त्यहाँको पछिल्लो सुरक्षा तथा सैन्य गतिविधिको अवस्थाबारे जानकारी लिएका थिए।






















