काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार-ए-लागोबाट करिब ११ किलोमिटर टाढा दक्षिणी फ्लोरिडामा आइतबार लियरजेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी यातायात सचिव सिन डफीले पाम बिच काउन्टीमा भएको दुर्घटनामा विमानमा रहेका सबै नौ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार लियरजेट ६० विमान टेक्सासको अस्टिनबाट बहामासतर्फ उडेको थियो ।
पाम बिच काउन्टीको क्रेस्टहेभननजिकै दुर्घटना भएको विमान व्यस्त सडक छेउमा खसेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका अप्रमाणित दृश्यमा विमान तीव्र गतिमा जमिनमा ठोक्किएर ठूलो आगोको मुस्लो उठेको देखिन्छ।
फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले घटनालाई विनाशकारी विमान दुर्घटना बताएका छन् । उनले घटनास्थलमा जमिनमा रहेका अन्य व्यक्ति घाइते भएको खबर नआएको जानकारी दिए।
दुर्घटनाको समयमा ट्रम्प मार–ए–लागोमा थिए। उनी दुर्घटनास्थल नजिकै रहेको राष्ट्रपति डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः५५ बजे एयर फोर्स वनमा चढेर प्रस्थान गरेका थिए । विमान दुर्घटना हुनुभन्दा करिब एक घण्टाअघि उनले यात्रा सुरु गरेको जनाइएको छ।
पाम बिच काउन्टीका आयुक्त जोएल फ्लोरेसका अनुसार विमान मोबाइल घरहरूको बस्तीको प्रवेशद्वारनजिकै खसेको थियो। घटनापछि त्यहाँका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।
अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाबारे अनुसन्धान गर्ने जनाएका छन्। दुर्घटनाअघि उक्त क्षेत्रमा आँधीबेहरी आएको बताइएको छ।
उडान निगरानीसम्बन्धी वेबसाइट लाइभएटीसी डट नेटमा सार्वजनिक गरिएको हवाई सञ्चारको अभिलेखमा चालक दलले विमानमा मध्यम हावाको अशान्ति र बरफ जम्ने समस्याबारे जानकारी दिएको सुनिन्छ। विमानले वर्षायुक्त क्षेत्रमा प्रवेश गरिरहेको र उचाइ बढाउनुपर्ने बताएको केही समयपछि चालक दलले ‘मेडे’ भन्दै आपत्कालीन सङ्केत दिएको थियो।
अभिलेखअनुसार विमान प्रतिमिनेट १० हजार फिटको गतिमा तल झरिरहेको जानकारी दिइएको थियो। केही सेकेन्डपछि झर्ने गति प्रतिमिनेट २० हजार फिट पुगेको उल्लेख गर्दै चालक दलले आपत्कालीन अवस्था घोषणा गरेको सुनिन्छ। सम्पर्क टुट्नुअघि चालक दलका एक सदस्यले विमान जमिनतर्फ खसिरहेको बताएका थिए ।






















