काठमाडौं– भारतको झारखण्डस्थित सरायकेला जिल्लाको गम्हरिया प्रहरी चौकी परिसरमा एक महिलामाथि बलात्कार भएको आरोपमा वायरलेस अपरेटरसहित तीन प्रहरी पक्राउ परेका छन् । घटनामा संलग्न रहेको आरोप लागेका अन्य १२ प्रहरीलाई निलम्बन गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख मनोज स्वर्गियारीले घटनामा तीन प्रहरीलाई पक्राउ गरी जेल पठाइएको पुष्टि गरेका छन् । बीबीसी हिन्दीका अनुसार यस घटनामा कुल १५ जना अभियुक्त रहेको उनले बताएका छन् ।
प्रहरी प्रमुख स्वर्गियारीका अनुसार कर्तव्यप्रति गम्भीर लापरवाही, कमजोरी र अनुशासनहीनता देखाएको आरोपमा १२ प्रहरीलाई निलम्बन गरिएको हो ।
समाचारअनुसार महिलाको आफ्ना पतिसँग कुनै विषयमा विवाद भएपछि उनले सहयोगका लागि स्थानीय गम्हरिया प्रहरी चौकीमा पुगेकी थिइन् । प्रहरीले उनलाई चौकीभित्रै एउटा कोठामा राखेको र त्यही प्रहरी वायरलेस अपरेटरले आफूमाथि बलात्कार गरेको महिलाको आरोप छ ।
घटनाको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख स्वर्गियारीले घटनाका सबै पक्षमा गहन अनुसन्धान भइरहेको र अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि थप कारबाही गरिने बताए ।
महिलामाथि बलात्कार भएको आरोप पुष्टि भए–नभएको विषयमा सोधिएको प्रश्नमा उनले स्वास्थ्य परीक्षण भइसकेको तर त्यसको प्रतिवेदन प्राप्त हुन बाँकी रहेको जानकारी दिए । प्रहरीले हाल स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतीक्षा गरिरहेको छ ।






















