काठमाडौं – नयाँ जातको धान लगाउँदा बाला नलाग्ने र दाना नपसाउने समस्या देखिएपछि चितवनको माडीका किसान चिन्तित बनेका छन । स्थानीय एग्रोभेटबाट खरिद गरी लगाइएको ‘बायोसीड ३०१’ जातको धानमा समस्या देखिएपछि किसानले यस वर्ष अपेक्षित उत्पादन लिन सकेका छैनन् । कतिपय किसानको खेतमा धानको बोट सुकेर खोक्रा बाला मात्रै रहेका छन् भने केहीले परालसमेत भित्र्याउन नपाएको गुनासो गरेका छन् ।
माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थिए । यस वर्ष भने नयाँ जातको धान लगाउँदा खेतमा राम्रोसँग बाला नै लागेन । खाँदा मिठो र मसिनो चामल हुने जानकारी पाएपछि बीउ खरिद गरेर रोपेका भण्डारीले धानमा रोग देखिएपछि पटकपटक विषादी प्रयोग गरे पनि समस्या नियन्त्रण गर्न सकेनन् ।
धान काट्ने समयमा खेतमा बोट र खोक्रा बाला मात्रै भेटिएपछि उनी निराश बनेका छन् । “नयाँ जातको धान लगाउने भनेर लगाएको, नफलेर बर्बाद भइयो । धान काट्दा टटला मात्रै भए, दाना केही भएन”, उनले भने । आफूले लगाएको धानसँगै आसपासका खेतमा सोही जात लगाएका किसानले पनि उस्तै समस्या भोग्नुपरेको उनको भनाइ छ ।
माडी नगरपालिका–६, कल्याणपुरकी सावित्री चापागाईंको अवस्था पनि उस्तै छ । विदेशमा रहेका श्रीमान्लाई स्वदेश फर्काएर आफ्नै जग्गामा खेती गर्ने र परिवारका लागि अन्न जुटाउनुका साथै आम्दानी गर्ने उद्देश्यले उनले यस वर्ष धान रोपेकी थिइन् । तर, धान रोपेदेखि नै बोटमा समस्या देखिन थालेपछि उनको अपेक्षा पूरा हुन सकेन ।
करिब १६ कठ्ठा जग्गामा लगाएको धानबाट दुई–चार बोरा मात्रै उत्पादन भएको र त्यो पनि खानयोग्य नरहेको चापागाईंले बताइन् । “धान रोपेपछि रातो भयो । पछि बोट मरेर बाला नै नलाग्ने र पोटा मात्रै आयो । हामी त बर्बाद भयौँ । यस्तो समस्या त आजसम्म भएको थिएन । न धान भयो, न पराल”, उनले भनिन् ।
माडी नगरपालिका–५, ६ र ७ लगायतका क्षेत्रमा ‘बायोसीड ३०१’ जातको धान लगाएका किसानको खेतमा समान प्रकृतिको समस्या देखिएको छ । धानमा सुरुमा मरुवा (ब्लास्ट) र खैरो थोप्ले रोग देखिएको थियो । रोग नियन्त्रणका लागि कृषि शाखा तथा स्थानीय एग्रोभेटको सल्लाहमा विषादी प्रयोग गरिए पनि समस्या समाधान भएन । पछि धान पसाउने र बाला लाग्ने समयमा समेत बाला नलाग्ने, बाला लागे पनि सानो हुने र दाना नपसाई खोक्रो रहने समस्या देखिएको हो ।
माडी नगरपालिका कृषि शाखाका प्रमुख सुरेश सिँखडाका अनुसार किसानको गुनासोपछि गरिएको स्थलगत अनुगमनमा उक्त जातको धानमा बाला नलागेको तथा बाला लागेका खेतमा पनि घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइटजस्ता रोग व्यापक रूपमा देखिएको थियो । धान पाक्ने समयमा दाना नलाग्ने समस्या थपिएपछि किसानले क्षति व्यहोर्नुपरेको उनले बताए ।
स्थानीय एग्रोभेटसँग गरिएको सोधपुछका आधारमा माडी क्षेत्रमा उक्त जातको करिब तीन हजार केजी बीउ बिक्री भएको र करिब एक सय हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि शाखाले जनाएको छ । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको पञ्जीकरण विवरणअनुसार उक्त जातको धान १२९ दिनमा पाक्नुपर्ने हो । तर, असार १५ देखि मसान्तसम्म रोपिएको धानमा असोज मसान्तसम्म पनि धेरै किसानको खेतमा बाला ननिस्किएपछि बीउको गुणस्तरमाथि प्रश्न उठेको छ ।
सिँखडाका अनुसार उक्त जातको धान लगाएका अधिकांश किसानको खेतमा उस्तै समस्या देखिएकाले बीउमै कैफियत हुन सक्ने आशङ्का गरिएको छ । कृषि शाखाले समस्याबारे कृषि विकास कार्यालय, भरतपुर र प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई जानकारी गराइसकेको छ । प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेको छ ।
अहिले कृषि शाखाले प्रभावित किसानबाट क्षतिको विवरण सङ्कलन गरिरहेको छ । बीउ कम्पनीका प्रतिनिधिलाई बोलाएर क्षतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको सिँखडाले बताए । किसानले समस्या समाधानका लागि नगरपालिकाको कृषि शाखामा पुगेर गुनासो गर्ने क्रम जारी छ ।
अनुसन्धानपछि क्षतिको यकिन गरिने
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माडीका केही क्षेत्रमा नयाँ जातको धानमा समस्या देखिएको जानकारी प्राप्त भएको बताए । किसानको गुनासो र स्थानीय कृषि शाखाबाट प्राप्त विवरणका आधारमा समस्याको अनुसन्धान भइरहेको र बीउ कम्पनीबारे पनि बुझ्ने काम अघि बढाइएको उनले जानकारी दिए ।
बीउ बिक्री गर्ने एग्रोभेटले कहाँबाट बीउ ल्याएको हो भन्ने विवरण सङ्कलन गरी आवश्यक प्रक्रिया अघि बढाइने कँडेलको भनाइ छ । धानमा देखिएको समस्या रोगका कारण मात्रै हो वा बीउको गुणस्तरमा समेत कैफियत छ भन्ने विषय अनुसन्धानपछि स्पष्ट हुने उनले बताए ।
किसानले बीउ खरिद गर्दा त्यसको स्रोत, गुणस्तर र आफ्नो क्षेत्रका लागि उपयुक्तताबारे ध्यान दिनुपर्ने कँडेलले बताए। एग्रोभेटको सल्लाहमा मात्रै भर नपरी कृषि प्राविधिक तथा सम्बन्धित कृषि कार्यालयसँग परामर्श गरेर बीउ छनोट गर्न उनले सुझाव दिए ।
प्रभावित किसानले व्यहोरेको क्षतिको वास्तविक परिमाण र समस्याको कारण बीउको गुणस्तर परीक्षण तथा प्राविधिक अनुसन्धानपछि मात्रै यकिन हुनेछ। अहिले भने नयाँ जातको धान लगाएका माडीका किसान यस वर्षको उत्पादन गुम्ने चिन्तामा छन्।






















