images
images
  • भारतको पञ्जाबमा आम आदमी पार्टीका तीन विधायक भाजपामा प्रवेश

    काठमाडौं– पञ्जाबमा आम आदमी पार्टी (आप) का तीन विधायक भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्। कुँवर विजयप्रताप सिंह, हरमीत सिंह पठानमाजरा र चेतन सिंह जौडामाजरा भाजपामा प्रवेश गरेका हुन्।

    तीनै नेताले नयाँदिल्लीस्थित भाजपा मुख्यालयमा पार्टीका पञ्जाब प्रभारी सतीश पुनियाको उपस्थितिमा पार्टी सदस्यता ग्रहण गरेका छन्।

    यसअघि उनीहरूले आम आदमी पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिएका थिए। यसैक्रममा कुँवर विजयप्रताप सिंहले पञ्जाब विधानसभा सदस्यबाट समेत राजीनामा दिएका छन्।

    अमृतसर नर्थ निर्वाचन क्षेत्रबाट निर्वाचित विधायक तथा पूर्वआईपीएस अधिकारी कुँवर विजयप्रताप सिंहले लामो समयदेखि आफ्नै पार्टी नेतृत्वको आलोचना गर्दै आएका थिए। पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोपमा आम आदमी पार्टीले उनलाई सन् २०२५ जुनमा पाँच वर्षका लागि निलम्बन गरेको थियो।

    त्यस्तै पटियाला जिल्लाको समाना विधानसभा क्षेत्रबाट निर्वाचित विधायक चेतन सिंह जौडामाजरा र सनौर क्षेत्रका विधायक हरमीत सिंह पठानमाजराले पनि एक दिनअघि नै आम आदमी पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images