images
images
  • बाजुराका वर्षौंदेखि अलपत्र दुई पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया फेरि अघि बढाइँदै

    काठमाडौं – वर्षौंदेखि निर्माण अलपत्र रहेका बाजुराका दुईवटा पक्की पुलको ठेक्का रद्द गरिएको छ । बूढीगङ्गा नदीमाथिको मौरे पुल र बडीमालिका नगरपालिकास्थित ठूलीसाँघु खोलाको पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम अघि नबढाएपछि ठेक्का रद्द गरी पुनः निर्माण प्रक्रिया अघि बढाइएको हो ।

    करिब पाँच वर्षअघि ठेक्का सम्झौता भएका यी दुवै पुल तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, निर्माण कम्पनीले निर्धारित समयभित्र काम सुरु नगरेपछि महाकाली पुल योजना कार्यालय, महेन्द्रनगरले ठेक्का रद्द गरेको थियो । कार्यालयले निर्माण कम्पनी बिकोई बिल्डर्स प्रालिलाई कालोसूचीमा राख्नसमेत सिफारिस गरेको थियो ।

    बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्ने मौरे पुल निर्माणका लागि २०७८ माघ ११ गते बिकोई बिल्डर्ससँग १६ करोड २१ लाख ७८ हजार ६० रुपैयाँमा सम्झौता भएको थियो । २०८१ फागुनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कम्पनीले काम सुरु नै गरेको थिएन । ठेक्का रद्द गर्ने निर्णयविरुद्ध विवाद अदालत पुगेको थियो । २०८३ साउनमा अदालतले योजना कार्यालयकै पक्षमा फैसला गरेपछि निर्माण प्रक्रिया अघि बढाउने बाटो खुलेको महाकाली पुल परियोजनाका सूचना अधिकारी रवि शाहले जानकारी दिए ।

    बूढीगङ्गा नदीमा पुल नहुँदा वर्षायाममा स्थानीय तहबीचको यातायात सम्पर्क पूर्ण रूपमा अवरुद्ध हुने गरेको त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले बताए । हिउँदमा समेत जोखिमपूर्ण खोलाबाट आवतजावत गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । मौरे पुल बूढीगङ्गा र त्रिवेणी जोड्ने संरचना मात्र नभई बडीमालिका क्षेत्रको प्रमुख प्रवेशमार्गसमेत भएकाले निर्माण सम्पन्न भएपछि धार्मिक तथा पर्यटकीय आवागमन सहज हुने उनले बताए ।

    त्यस्तै, सदरमुकाम मार्तडी नजिकै मार्तडी–घट्मुना सडकखण्डअन्तर्गत पर्ने ठूलीसाँघु खोलाको पुल पनि लामो समयदेखि अलपत्र छ । उक्त पुल निर्माणका लागि २०७७ फागुन १० गते बिकोई बिल्डर्ससँग १६ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल २०८१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

    ठूलीसाँघु खोलामा पुल नहुँदा वर्षायाममा गौमूल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकले आवतजावतमा सास्ती भोग्दै आएका छन् । दुवै पुल एउटै निर्माण कम्पनीलाई एउटै प्याकेजमा जिम्मा दिइएको भए पनि कम्पनीको लापरबाहीका कारण ठेक्का रद्द गर्नुपरेको सूचना अधिकारी शाहले बताए ।

    अलपत्र पुलहरूको निर्माण अघि बढाउन पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत प्रक्रिया सुरु गरिएको जनाइएको छ । यसअघि दुवै आयोजनास्थलमा प्राविधिक टोली खटाएर स्थलगत परीक्षणसमेत गरिएको थियो ।

    बाजुरामा पुल निर्माण मात्र नभई सडक स्तरोन्नति र कालोपत्रका आयोजना पनि ठेकेदारको ढिलासुस्तीका कारण प्रभावित छन्। पूर्वाधार विकास कार्यालय अछामका अनुसार गत आर्थिक वर्ष २०८२र८३ मा मार्तडी–कोल्टी सडकका लागि विनियोजित २० करोड रुपैयाँ र खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकका लागि छुट्याइएको १३ करोड ५० लाख रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको थियो। मार्तडी–कोल्टी सडक निर्माणको जिम्मा पीएस बानियाँ निर्माण सेवाले लिएको छ भने अर्को सडकको ठेक्का केएसएम केबिसी–तेज जेभी, धनगढीले पाएको छ ।

    विकास आयोजना समयमै सम्पन्न नहुँदा स्थानीयको दैनिक जीवन प्रभावित हुँदै आएको छ । सडक र पुलको अभावमा यातायात सेवा अवरुद्ध हुने, कृषि उपज बजारसम्म पुर्‍याउन कठिनाइ हुने तथा स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवामा पहुँच कमजोर हुने गरेको स्थानीयको गुनासो छ । ठेक्का सम्झौता गरेर मात्रै आयोजना सम्पन्न नहुने भएकाले निर्माण व्यवसायीको जवाफदेहिता, नियमित अनुगमन र प्रभावकारी कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images