काठमाडौं– घटना केही फरक होला। सन्दर्भ केही फरक होला। तर २०६६ सालको प्रधानसेनापति रुकमाङ्गत कटवाल प्रकरण र अहिलेको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रकरण झण्डै झण्डै मिल्दोजुल्दो छ।
प्रधानसेनापति प्रकरणका बेला पनि सशस्त्र विद्रोहबाट आएको तत्कालीन माओवादीको प्रचण्ड बहुमत थियो। तर राज्यसत्ता सञ्चालनको अनुभव कम थियो। उनीहरु बन्दुकको भाषा बोल्दै सिंहदरवार छिरेका थिए।
२०६४ सालमा भएको निर्वाचनमा कांग्रेस, एमाले जस्ता ठुला पार्टीलाई माथ ख्वाउदै भूगोलतर्फ बहुमत जितेको थियो। २४० निर्वाचन क्षेत्रमा माओवादी एक्लैले १२० क्षेत्रमा प्रत्यक्षतर्फ चुनाव जित्यो। ६०१ सिट रहेको संविधानसभामा माओवादी एक्लैको २४० सिट थियो। तर अहिलेको जस्तो सरकारसँग दुईतिहाइ थिएन। कांग्रेस र एमाले दोस्रो र तेस्रो स्थानमा खुम्चिएका थिए।
त्योभन्दा अहिलेको परिस्थिति फरक छ। अहिले रास्वपाको सरकार सशस्त्र विद्रोहबाट होइन, पुराना पार्टीको कुशासन र भ्रष्टाचारविरुद्धको शंखघोषबाट जन्मिएको हो। देशमा पुरानै शासनमा रहेका कतिपय पार्टीका नेता तथा कार्यकर्ता सम्मिलित सरकार हो। तर अहिलेको सरकारसँग केही फरक कुरा छन्, त्यो हो दुईतिहाइ नजिक।
तर आईजीपी प्रकरणमा बिहीबार बसेको प्रहरीको पीसीसी बैठकपछि भने यसमा समेत सेनापति काण्डसँग मिल्दोजुल्दो हुने गरी तुलना गर्न थालिएको छ।
के थियो प्रधानसेनापति काण्ड ?
१५ वर्षअघि वैशाख महिनाको त्यो घटना। जुनबेला माओवादी नेतृत्वको सरकारले प्रधानसेनापति रुकमाङ्गत कटवाललाई पदबाट हटाउने निर्णय लियो। प्रधानसेनापतिलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइयो। उनलाई पदबाट हटाइएको जानकारी दिइयो।
उनको ठाउँमा सेनामा दोस्रो वरीयतामा रहेका कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापति नियुक्तिको पत्र दिइयो। उनी पत्र बुझेर बालुवाटरबाट सीधै भद्रकालीस्थित सैनिक हेडक्वाटर गए। सेनाको कार्यरथीलाई पत्र देखाउँदै बहाली प्रक्रिया थाल्न लगाए।
तर प्रधानसेनापति कटवाल चुप बसेनन्। त्यसबेला माओवादीबाहेकका सबै पार्टीहरु कटवालको पक्षमा देखिए। उनलाई पदबाट हटाउने निर्णयको विरोधमा १६ वटा पार्टी सरकारको सो निर्णय बदर गर्न माग गर्दै राष्ट्रपतिकोमा पत्रसहित पुगे।
अन्ततः प्रधानसेनापति पदबाट कटवाल हटाउने माओवादी सरकारको प्रयास फेल खायो। प्रधानसेनापति पदको वैधानिकता सकिनु केही मिनेटअघि रातको पौने १२ बजे राष्ट्रपति रामवरण यादवले थमौती पत्र पठाएपछि कटवालको पद जोगियो।
खड्काले पाएको कायममुकायम प्रधानसेनापति पदको पत्र बेकार सावित भयो। कटवाल फेरि जंगीअड्डा फर्केपछि कटवाल, सेनापतिका लाइनका कुलबहादुर खड्का र छत्रमान गुरुङले एकै ठाउँ बसेर सम्बोधन गरे।

जो अहिले प्रहरीको पीसीसी बैठकसँग मिल्दोजुल्दो छ।





















