काठमाडौँ । प्रहरीले चेक अनादर मुद्दामा काठमाडौँ महानगरपालिका–१५ बस्ने प्रविता भण्डारी सुवेदीलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाएको हो ।
भण्डारीलाई काठमाडौँमा पक्राउ गरेर शुक्रबार धुलिखेल लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रातोपाटीलाई बताए ।
प्रविता विरुद्ध २०७४ फागुन १५ मा काभ्रेपलान्चोक जिल्ला अदालतले २ वर्ष कैद र बिगो भराउने फैसला गरेको थियो । २० लाख नगद र ब्याज समेत भराउने ठहरी फैसला भए पनि कार्यान्वयन नभए पछि पीडित ज्ञानु श्रेष्ठले बिगो बापत कैद राख्न माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
पीडितको निवेदनको आधारमा २०८२ पुस ४ मा काभ्रे जिल्ला अदालतले पुरानो फैसला कार्यान्वयन गर्ने आदेश गरेको थियो । सो आदेशका आधारमा अदालतले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध प्रबिता सो पार्टीकी बागमती प्रदेश महिला विभाग प्रमुख हुन् । उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको डीएसपी विष्टले जानकारी दिए ।
गएको फागुन २१ गतेको निर्वाचनमा समानुपतिक उम्मेदवार छान्नका लागि आवश्यक मापदण्ड बनउन माग गर्दै राप्रपा केन्द्रीय कार्यालयमा धर्नामा बसेका महिलाहरु माथि लछार पछार गर्ने काममा समेत उनी संलग्न रहेको पीडित महिलाहरुले बताएका छन्





















