काठमाडौं– इजरायलमा मङ्गलबार भइरहेको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आफ्नो राजनीतिक अस्तित्व जोगाउने कडा प्रतिस्पर्धामा उत्रिएका छन् । १९ वर्ष सत्ता सम्हालेर इजरायलका सबैभन्दा लामो समय शासन गर्ने नेता बनेका नेतान्याहूप्रति सन् २०२३ अक्टोबर ७ को हमास आक्रमण, गाजा तथा इरानसँगको युद्ध र इजरायलको अन्तर्राष्ट्रिय पृथकताका बीच मतदाताहरूले मूल्याङ्कन गरिरहेका छन् ।
ओपिनियन पोलहरूका अनुसार नेतान्याहूको लिकुड पार्टी र पूर्वसेना प्रमुख गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनबीच तीव्र प्रतिस्पर्धा छ । कडा सुरक्षा दृष्टिकोण भएका गादी आइजेनकोटलाई मध्यमार्गी र दक्षिणपन्थी दुवै खेमाको समर्थन छ ।
नेतान्याहूले आफ्नो चुनावी अभियानमा युद्धकालीन नेतृत्व र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनलाई प्रमुख मुद्दा बनाएका छन् । ट्रम्पले इरानविरुद्धको कारबाहीमा सहयोग गर्ने, तर त्यसका लागि नेतान्याहू नै सत्तामा रहनुपर्ने दाबी गरेका छन् ।
अर्कातिर गादी आइजेनकोटले नेतान्याहूमाथि भ्रम, झूट र डरको राजनीति गरेको आरोप लगाउँदै जनताले चुनेका जुनसुकै नेतासँग ट्रम्पले काम गर्ने बताएका छन् ।
१२० सदस्यीय संसद् (नेसेट) मा कसैको पनि स्पष्ट बहुमत आउने सम्भावना न्यून छ । बहुमत नपुगे नेतान्याहूले फेरि उग्र-दक्षिणपन्थी नेताहरूको सहारा लिनुपर्ने हुन्छ । यदि कुनै पनि पक्षले गठबन्धन सरकार बनाउन नसकेमा अर्को वर्ष पुनः निर्वाचन नभएसम्म नेतान्याहू नै कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहिरहनेछन् ।
विश्लेषकहरूका अनुसार चुनावमा कुनै एक पक्षको एकछत्र जित हुने सम्भावना देखिँदैन ।






















