images
images
  • अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई लिएर महानायकले के भने ?

    काठमाडौं– महानायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् ।

    सोमबार आफ्नो फेसबुक वालमा एक लामो धारणा सार्वजनिक गर्दै हमालले मन्त्री वाग्लेको अभिव्यक्तिमाथि टिप्पणी गरेका हुन् । हमालले भनेका छन्, ‘नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वाधीनता, सम्मान र सिद्धान्तमा आधारित हुनुपर्छ ।’

    हमालले मन्त्रीले आफ्नो जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै त्यसले नेपालको लामो समयदेखि कायम रहेको सन्तुलित परराष्ट्र नीतिको आधारलाई कमजोर पार्न सक्ने बताएका छन् । उनले यस्तो अभिव्यक्तिले नेपालको सार्वभौमिकताको गरिमामा आँच पुर्‍याउनुका साथै नेपाल–भारत सम्बन्धको महत्त्वलाई समेत कमजोर बनाउने टिप्पणी गरेका छन् ।

    नेपाल र भारतबीचको सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै हमालले छिमेकीसँगको सम्बन्ध सुदृढ गर्ने हरेक इमानदार प्रयासको स्वागत गर्नुपर्ने बताएका छन् । तर, त्यसका लागि देशका प्रतिनिधिले कूटनीतिक विवेक अपनाउँदै नेपालको राष्ट्रिय अडानलाई सम्मानजनक र सन्तुलित ढङ्गले प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।

    उनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र रणनीतिक रूपमा निकै महत्त्वपूर्ण भएकाले व्यक्तिगत तुष्टीकरणका सङ्केत वा सार्वजनिक उपहासको विषय बन्ने अभिव्यक्तिमा सीमित गर्न नहुने बताएका छन् । दुई देशबीचका अनसुल्झिएका सीमा समस्या र आर्थिक निर्भरताजस्ता विषयलाई ध्यानमा राख्दै सरकारले कूटनीतिक माध्यम, प्रमाण र मैत्रीपूर्ण संवादमार्फत आफ्नो धारणा स्पष्ट रूपमा राख्नुपर्ने उनले उल्लेख गरेका छन् ।

    ‘छिमेकीसँगको मित्रता र आफ्नो सार्वभौमिकताप्रतिको प्रतिबद्धता एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्, यी एकअर्काका पूरक जिम्मेवारी हुन्,’ हमालले भनेका छन् । नेपाल स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो पहिचान र राष्ट्रिय हितप्रति स्पष्ट रहेकै कारण भरपर्दो साझेदार बन्न सक्ने उनको धारणा छ ।

    मन्त्री वाग्लेले भारतमा के भनेका थिए ?

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यही कात्तिक ६ गते भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ लाई सम्बोधन गर्दै ‘नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको’ अभिव्यक्ति दिएका थिए ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका उनले वाग्लेले सो सम्मेलनमा भनेका थिए, ‘भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ । कहिलेकाहीँ समस्या आउँछन्, तर हामी एकअर्कासँग दृढ रूपमा जोडिएका छौँ । भारतसँगको जस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशसँग नेपालको छैन । कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो । तर, त्यो युग अब सकिएको छ ।’

    वाग्लेको उक्त अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै विरोध भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images