काठमाडौं– इरानमाथि फेरि सैन्य आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको द्विविधायुक्त भनाइ आएपछि इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले कडा प्रतिक्रिया दिएका छन् ।
उनले अमेरिकाले आक्रमण गरे त्यसको जवाफ कसैले नसोचेको ढंगले दिइने चेतावनी दिएका छन् ।
उनले भने, ‘इरानको क्षेत्रीय अखण्डताताविरुद्धको कुनै पनि किसिमको दुस्साहसको यस्तो जवाफ दिइनेछ, जसको कल्पना पनि गर्न सकिँदैन ।’
आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुसँग भनेका थिए, ‘मलाई काम पूरा गर्नुपर्ने हुनसक्छ वा उनीहरूले (इरानले) कुनै सम्झौता गर्न सक्छन् ।’
यद्यपि ट्रम्पले ‘काम पूरा गर्ने’ भन्नुको अर्थ इरानमाथि फेरि हमला गर्ने हो वा होइन भन्ने कुरा स्पष्ट पारेका छैनन् ।
इरानी सभामुख तथा मुख्य वार्ताकार गालिबाफले आइतबार संसद्को कारबाही सुरु हुनुअघि आफ्नो भाषणमा उक्त चेतावनी दिएका हुन् ।
सो सत्रमा सांसदहरूले ‘घुसपैठको सामना गर्ने’ सँग जोडिएको विधेयकमाथि छलफल जारी राखेका छन् ।






















