काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि आक्रमण गर्ने विषयमा घुमाउरो प्रतिक्रिया दिएका छन् ।
शनिबार फ्लोरिडाको वेस्ट पाम बिचमा मिडटर्म चुनावको लागि अर्ली भोट हालेपछि उनले पत्रकारहरूसँग भने, ‘हुनसक्छ मैले काम पूरा गर्नुपरोस् वा हुनसक्छ उनीहरूले कुनै सम्झौता गरून् ।’
आफूले आक्रमण गर्ने वा इरानले सम्झौता गरोस् भन्ने द्वैध कुरा गरेका ट्रम्पले थप भने, ‘अहिले यो तय भएको छैन कि अगाडि के हुनेछ ।’
उनले इरानमाथि फेरि आक्रमण गरिन्छ कि इरानसँग सम्झौता हुन्छ, यी दुइटै विषयमा स्पष्ट पारेनन् । यसले उनी इरानमाथि आक्रमण गर्ने विषयमा मजाक गरिरहेको टिप्पणी गर्न थालिएको छ ।
ट्रम्प अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पसँग भोट हाल्न फ्लारिडा पुगेका थिए ।
यसैबीच अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले इरानसँगको युद्धको कडा आलोचना गरेका छन् ।
आफ्नो प्रशासनले कूटनीतिको माध्यमबाट इरानलाई आणविक हतियार हासिल गर्नबाट रोक्नमा सफलता पाएको दावी गर्दै ओमाबाले यसको लागि एउटा पनि क्षेप्यास्त्र प्रहार गर्न नपरेको बताए ।
अहिले ट्रम्प प्रशासनले अख्तियार गरेको भन्दै त्यसको विरोध गरेका ओबामाले अमेरिकी सैन्यकर्मीहरूको मृत्यु, ऊर्जाको बढ्दो मूल्य र होर्मुज स्ट्रेटबाट तेलको आवतजावतमा बाधा गर्ने इरानको क्षमताको पनि उल्लेख गरे ।






















