काठमाडौं– सर्बियामा आइतबार हुने संसदीय निर्वाचन विशेष अर्थपूर्ण छ । लामो समयदेखि सत्तामा रहेका अलेक्जेन्डर भुसिकका प्रतिस्पर्धीको रूपमा इलिजा उसडानोभिक देखिएका छन् । त्यसो त सर्बियाको राष्ट्रिय राजनीतिमा उनको उपस्थिति नै अपत्यारिलो हो । धेरैले अपेक्षा गरेभन्दा एकदमै फरक पनि हो । सन् २०१२ देखि सर्बियाको नेतृत्व गरेका भुसिकको विरुद्धमा अहिले खडा भएका इलिजाको चर्चा भने दुई वर्षयता भएको युवाहरूको आन्दोलनको कारण हो ।
सर्बियामा विद्यार्थीहरूले आफैंले सत्ता चलाउने हिम्मत गरेनन् । उनीहरूले २५० जना उम्मेदवार छनोट गरेर देशभरि उम्मेदवार बनाए । यी नै मध्येका नोभी साद विश्वविद्यालयका प्राध्यापक उसडानोभिक पनि एक हुन् ।

‘न्यायिक आन्दोलनका लागि मेरा विद्यार्थीको पक्षमा म रहनु स्वाभाविक हो’, उसडानोभिकले आफ्नो उम्मेदवारीका बारे बताएका छन् । सर्बियाको उपप्रधानमन्त्री, प्रधानमन्त्री र त्यसपछि राष्ट्रपति भएका भुसिक फेरि एक पटक चर्चामा छन् । उनको उम्मेदवारीका विरुद्धमा खडा हुनु चानचुने पक्कै होइन ।
भुसिक आफैंलाई अहिलेको विद्रोही आवाज निर्वाचनमा आफ्नो विरुद्धमा उपस्थित हुने कुरा राम्रोसँग थाहा छ । एउटा समुदायमा उनको राम्रो पकड छ । उनको नेतृत्वमा सर्बियामा आर्थिक वृद्धिदर राम्रो थियो । साथै भौतिक संरचनाको विकासमा पनि उनको कार्यकाल महत्त्वपूर्ण ठहरिएको थियो ।

उनले विद्यार्थीको प्रदर्शन अन्तर्राष्ट्रिय समुदायको उक्साहटमा भएको आरोप लगाउँदै आएका छन् । उनले आफ्नो राष्ट्रवादी अडानका कारण भएको बताउँदै यसलाई परास्त गर्नुको विकल्प नभएको बताउँदै आएका छन् ।
सर्बियाको विद्यार्थी आन्दोलनको कुनै घोषित नेता थिएन । यसकारण उक्त अभियानले भावी राष्ट्रपतिको रूपमा कसैको नाम पनि अघि सारेको छैन । पछिल्ला सर्वेक्षणका अनुसार निर्वाचन परिणाम अत्यन्त प्रतिस्पर्धात्मक हुनसक्छ । यदि यो अभियानले जित हात पारेमा भावी नेतृत्व यसै भन्न सकिने अवस्था छैन । तथापि उसडानोभिक पहिलो दाबेदार मानिएको छ ।
उक्त अभियानले उम्मेदवार बनाएका अन्य व्यक्तिमा खेलाडीदेखि अर्थशास्त्रीसम्म छन् । यिनीहरूमध्ये धेरै जना राजनीतिक पृष्ठभूमिका छैनन् । उनीहरूले कानुनसम्मत राज्य र वाक स्वतन्त्रताको विषय उठान गरेका छन् । यसैका लागि सत्तामा परिवर्तन उनीहरूको आवश्यकता हो ।
सञ्चारमाध्यमले सत्तारुढ दललाई समर्थन गरेका कारण पनि निर्वाचनमा असर गरेको कुरा विगतमा धेरै सर्वेक्षणले प्रस्ट पारेका छन् । दुई वर्षअघि नोदी साद रेलवे स्टेसनमा भएको दुःखद घटना नै अहिले अलेक्जेन्डरका लागि सबैभन्दा टाउको दुःखाइको विषय बनेको छ ।
कूटनैतिक रूपमा भुसिक सफल नेता हुन् । उनले युरोपेली युनियनको सदस्यताको विषयमा बारम्बार वार्ता अघि बढाएका छन् । साथै रुस र चीनसँग सुमधुर सम्बन्ध कायम राखेका छन् ।
उनले विद्यार्थीको हातमा सत्ता गएमा अन्तर्राष्ट्रिय सम्बन्ध तहसनहस हुने बताउँदै सर्बियाको भविष्यका लागि आफ्नो जित जरुरी भएको बताउँदै आएका छन् ।
संसारका अन्य देशमा चलेका पपुलिस्ट गतिविधि
सर्बियामा पनि भुसिकको उदय पपुलिस्टबाट भएको हो । उनले अक्टोबर महिना लाग्नेबित्तिकै अभियान सुरु गरेका थिए ।
निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने क्रममा उनी हजारौं समर्थकका माझ पुगेका थिए । टेलिभिजनमा उनको उम्मेदवारीको प्रत्यक्ष प्रसारण गरिएको थियो ।
के थियो भीषण रेल दुर्घटना ?
सन् २०२४ नोभेम्बर १ मा नादी सादको रेलवे स्टेसनमा छाना खसेर १६ जनाको ज्यान गएको थियो । त्यस घटनाको निष्पक्ष छानबिनको मागसहित विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।
यसपछि देशव्यापी रूपमा आन्दोलन सुरु भएको हो । विद्यार्थीहरूको सो आन्दोलनको मूल कारण भने घटनालाई सरकारले ढाकछोप गरेको भन्ने नै हो ।
सर्बियामा २५० सिटका लागि निर्वाचन हुँदैछ । सरकार गठनका लागि १२६ सिट आवश्यक छ । थ्रेसहोल्ड कटाउन ३ प्रतिशत मत आवश्यक छ ।
सर्वेक्षणमा अगाडि छन् भुसिक

एउटा मत सर्वेक्षणअनुसार सत्तारुढ दलको पक्षमा ४४.३ तथा विपक्षी विद्यार्थी गठबन्धनको ४२.५ प्रतिशत मत छ । यसअघि सरकार पक्षधर भनिएको एउटा निकायले सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणअनुसार भुसिकको पक्षमा ४८.६ तथा विद्यार्थी गठबन्धनको पक्षमा ३७.१ प्रतिशत मत पाउने अनुमान गरिएको थियो ।
यसअघि कन्जरभेटिभतर्फ झुकाव राख्ने एउटा निकायले विद्यार्थी सङ्गठनको ४४.४ तथा भुसिक पक्षमा ४१.७ प्रतिशत मत रहेको देखाएको थियो ।
अहिलेको सर्बियाको मूल मुद्दा भनेको कोसोभोलाई कसरी लिने भन्ने नै हो । सर्बियाको पुरानो पुस्ताले डरलाग्दो गृहयुद्ध र ठुलो बमवारीको घटना देखेको छ । सन् १९९० को दशकको सुरुसम्म सर्बिया एउटा विशाल देश थियो । त्यसै युगोस्लाभिया अहिले ७ देशमा विभाजित छ । सर्बिया त्यसमध्येको सबैभन्दा विशाल हो ।
क्रोएसिया, मोन्टेनग्रो, स्लोभानिया, नर्थ मेसोडोनिया र बोस्निया एन्ड हर्ज गोभिना बारम्बार विभाजन भएर बनेका देश हुन् । कोसोभोले पनि सन् २००८ देखि आफूलाई स्वतन्त्र देश दाबी गरेको छ ।
फलाम र अटो-मेकानिकल इन्जिनियरिङको सवालमा सर्बिया अग्रणी छ । यो देशका युवा पुस्तामा स्वाभाविक विद्रोहको भाव देखिन्छ भने पुराना पुस्तालाई सन् १९९० को दशकको गृहयुद्ध र राज्यको विभाजनको घटना अझै ताजै छ ।
जे होस्, सर्बियाको निर्वाचन संसारका लागि प्रतीक्षाको विषय बनेको छ । एउटा विद्यार्थी आन्दोलनले दुई वर्षपछि निर्वाचनमा जित हात पारेर स्थापित सत्ता पल्टाउन सक्ने सम्भावना पनि जीवितै छ ।
– बीबीसी, अजजजिरा, एएनएसए डट आईएलगायतको सहयोगमा


मनोज घिमिरे 



















