images
images
  • फेरि आक्रमण गर्ने चेतावनीपछि ट्रम्पलाई इरानको कटाक्ष- तपाईंका खिया लागेका युद्धपोतहरू होर्मुज नजिक आउने आँट गर्दैनन्

    काठमाडौं- इरानी सशस्त्र बलका चिफ अफ स्टाफ तथा खातम अल-अम्बिया केन्द्रीय मुख्यालयका कमाण्डर मेजर जनरल अलि अब्दुल्लाहीले इरानी सेनाले कुनै पनि हालतमा अमेरिकी सैन्य जहाजहरूलाई फारसको खाडीमा प्रवेश गर्न नदिने बताएका छन् ।

    इरानी राज्य प्रसारक इरिबद्वारा प्रसारित भनाइमा उनले इरानी सेनाले अमेरिकी नौसेनालाई प्रभावहीन बनाइदिएको र खाडी वरपरका क्षेत्र वा इरानको समुद्री सीमा नजिक आउन नसक्ने स्थितिमा पुर्‍याइदिएको दाबी गरे ।

    अब्दुल्लाहीले इरानका आणविक संरचनाहरू ध्वस्त पारिसकेको भनी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक गर्दै आएका दाबीहरूमाथि पनि प्रश्न उठाए ।

    ‘यदि तपाईंले सबै कुरा नष्ट गरिसक्नुभएको हो भने यस्ता भ्रमपूर्ण दाबीहरू बारम्बार दोहोर्‍याउनुको के अर्थ छ ?’, उनको प्रश्न थियो, ‘यदि तपाईं आफ्ना हमलाले इरानका सबै सैन्य संरचना र क्षमताहरू नष्ट गरिसकेको कुरामा निश्चित हुनुहुन्छ भने हाम्रा क्षेत्र र होर्मुज जलडमरूमध्य नजिक आउन तपाईंका ती खिया लागेका युद्धपोत, पानीजहाज र कायर सैन्य बलहरूले किन आँट गर्दैनन् ?’

    अब्दुल्लाहीले यस सङ्घर्ष जारी रहँदा अमेरिका र इजरायललाई उनीहरूकै गल्तीका कारण सिर्जना भएको दलदलमा अझ गहिरो गरी फसाउने इरानको रणनीति रहेको बताए ।

    यसअघि शुक्रबार डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले फेरि आक्रमण गर्न सक्ने बताएका थिए ।

    अमेरिकाले फेरि एकपटक एपिक फ्युरी जस्तै सैन्य अभियान सञ्चालन गर्न सक्ने उनको भनाइ थियो । फ्लोरिडामा शुक्रबार आयोजित एक चुनावी र्‍यालीका क्रममा ट्रम्पले भने, ‘हामी फेरि एउटा सानो एपिक फ्युरी जस्तै सैन्य अभियान सञ्चालन गर्न सक्छौं वा उनीहरूले सम्झौता गर्न सक्छन् ।’

    उनले अमेरिका र इरानबीच सम्झौता हुन सक्ने पनि बताएका छन्। इरानले समझदारी देखाउने हो भने गम्भीर वार्ता सुरु गर्ने प्रस्ताव राख्नुपर्ने उनको भनाइ थियो । इरानले त्यसो गर्नेमा आफूलाई शंका लागेको ट्रम्पको भनाइ छ ।

    उनले इरानको अर्थतन्त्र अहिले विश्वकै सबैभन्दा खराब अर्थतन्त्रमध्ये एक रहेको दाबी गरे । ट्रम्पले इरानलाई अमेरिकाले ठूलो क्षति पुर्‍याएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images