images
images
  • दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर कर्णालीमा आबद्ध

    काठमाडौं- दक्षिण अफ्रिकाका क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा आबद्ध भएका छन् । कर्णालीले शुक्रबार उनलाई टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो ।

    मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेव्यु गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनले दुई हजार ८०४ रन बनाएका छन् ।

    मिलरले सन् २०१७ मा बङ्गलादेशविरुद्ध ३५ बलमै शतक प्रहार गरेका थिए । इण्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्स, राजस्थान रोयल्स, पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सलगायतका टोलीबाट खेलिसकेका मिलरले विश्वका अन्य टी–२० लिगको अनुभव पनि बटुलिसकेका छन् ।

    सन् २०२४ को पुरुष टी–२० विश्वकपको फाइनलसम्म पुगेको दक्षिण अफ्रिकी टोलीका सदस्यसमेत रहेका उनले महत्त्वपूर्ण खेलमा आफ्नो अनुभव र क्षमता प्रदर्शन गरेका थिए । मिलरले हालसम्म १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

    कर्णाली याक्सले यस शृंखलाका लागि पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान, पाकिस्तानी अलराउन्डर हुसेन तलत तथा बङ्गलादेशका अकबर अली र अरिफुल इस्लामलाई पनि अनुबन्ध गरिसकेको छ ।

    एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ देखि आयोजना काठमाडौं त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images