images
images
  • एनपीएल तेस्रो संस्करण: म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

    काठमाडौं- श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगर किङ्ग्सले उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी भएको उल्लेख गरेको छ ।

    म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् । श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

    उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा टेस्टमा ११९ खेलमा आठ हजार २१४, एकदिवसीयमा २२६ खेलमा पाँच हजार ९१६ र ९० टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ४१६ रन बनाएका छन् ।

    बलिङतर्फ उनले टेस्टमा ३३, एकदिवसीयमा १२६ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४५ विकेट लिएका छन् । म्याथ्युजले इन्डियन प्रिमियर लिग (आइपीएल) र लङ्का प्रिमियर लिग (एलपीएल) पनि खेलिसकेका छन् ।

    त्यस्तै दक्षिण अफ्रिकी मूलका अमेरिकन अलराउन्डर शेड्ली भान स्काल्कविकले लुम्बिनी लायन्सबाट एनपीएलको तेस्रो संस्करण खेल्ने भएका छन् । लुम्बिनीले आज सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो ।

    शेड्लीले हालसम्म १३ एकदिवसीय खेल र १८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लङ्का प्रिमियर लिग (एलपीएल), आईएल टी–२० जस्ता प्रतिष्ठित लिगमा प्रतिस्पर्धा गरिसकेका छन् ।

    तेस्रो संस्करणको एनपीएल यही कात्तिक ९ गतेदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images