काठमाडौं-बंगलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले बिहीबार सामाजिक सञ्जालमार्फत हसनलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो।
पोखरा एभेन्जर्सले हसनलाई उत्कृष्ट अलराउन्डरका रूपमा प्रस्तुत गर्दै आइसिसीको टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौँ स्थानमा रहेको उल्लेख गरेको छ। उनी आगामी संस्करणमा एभेन्जर्सको जर्सीमा मैदान उत्रनेछन्।
३१ वर्षीय हसनले बंगलादेशका लागि हालसम्म ७८ टी– २० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टी– २० अन्तर्राष्ट्रियमा ७८ विकेट लिँदा एकदिवसीय अन्तर्राष्ट्रियमा १५ विकेट आफ्नो नाममा लेखाएका छन्। हसनले बंगलादेश प्रिमियर लिग (बिपिएल)मा विभिन्न ६ टोलीबाट खेलिसकेका छन्। एनपिएलमा उनको सहभागिता पहिलो विदेशी लिग अनुभव हुनेछ।
पोखरा एभेन्जर्सले यसअघि बंगलादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि तेस्रो संस्करणका लागि अनुबन्ध गरिसकेको छ। दुई बंगलादेशी खेलाडीको उपस्थितिले टोलीको अनुभव र प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ।
एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि काठमाडौंस्थित कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदै छ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।





















