काठमाडौं- बङ्गलादेशका अलराउन्डर मेहदी हसन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लागि पोखरा एभेन्जर्समा अनुबन्धित भएका छन ।
पोखराले उनलाई आज टोलीमा अनुबन्ध गरेको जनाएको हो ।
‘‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्नेछन्,’’ पोखराले आज सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ ।
३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन् ।
मेहदीले विभिन्न ६ वटा टोलीबाट बङ्लादेश प्रिमियर लिग (बीपीएल) समेत खेलेका छन् । एनपीएल उनका लागि पहिलो विदेशी लिग हुनेछ । पोखराले तेस्रो संस्करणको एनपीएलका लागि बङ्लादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि अनुबन्ध गरिसकेको छ ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ ।





















