images
images
  • नेपाली राष्ट्रिय क्रिकेट टीम: ओडीआई जोगियो, अब कतातिर ध्यान ?

    काठमाडौं- नेपालले ओमानसँगको एकदिवसीय खेलमा १० रनको जित हात पार्दै कमसेकम एक साइकलका लागि ओडीआई मान्यता जोगाएको छ । डिभिजन २ को अन्तिम खेलमा पाएको सफलतासहित नेपालले सातौं स्थानमा रहेको क्यानडालाई एक अङ्कले पछि छाडेको हो । लिगमा शीर्ष ६ मा रहने टोलीको एकदिवसीय मान्यता यथावतै रहनेछ ।

    कुल ३६ खेलको समाप्तिमा नेपालको ३० तथा क्यानडाको २९ अङ्क छ । नेपालको अबको ध्यान सन् २०२७ को विश्वकप क्रिकेटका लागि हुनेछ । सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा कुल १४ टोलीको सहभागिता रहनेछ । सहभागी १० टोलीको टुङ्गो लागिसकेको छ ।

    फेब्रुअरी र मार्च महिनामा आयोजना हुने ग्लोबल क्वालिफायरले बाँकी रहेका चार टोलीको टुङ्गो लाग्नेछ ।

    अहिलेको पछिल्लो सिरिजभन्दा अघि कमजोर लयमा रहेको नेपाली टोलीले यस सिरिजमा भने प्रशस्त आत्मविश्वास बटुलेको छ । अन्तिम सिरिजमा ४ मध्येका ३ खेलमा नेपालले जित हात पारेको छ ।

    यसअघि नै शीर्ष ४ मा स्थान सुरक्षित गरिसकेको ओमानको विरुद्धमा दुवै खेलमा सफलात पाउनु नेपालको मुख्य टर्निङ प्वाइन्ट बन्यो । त्यसो त विश्वकप २०२७ को यात्राका लागि भने यस डिभिजन २ मा पाँचौं स्थान पाउनु या आठौं स्थान पाउनुले कुनै अर्थ र सरोकार भने राख्दैन ।

    विश्वकप २०२७ को बाटो

    छनोट भई सकेका टोली : दक्षिण अफ्रिका, जिम्बाबे, भारत, पाकिस्तान, श्रीलङ्का,बङ्गलादेश, अफगानिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड र इङ्गल्यान्ड

    ग्लोबल क्वालिफायर

    बाँकी रहेका चार टोलीको टुङ्गो २२ फेब्रुअरी देखि २३ मार्चसम्म १० टोली बीचमा हुने ग्लोबल क्वालिफायरले टुङ्गो लगाउनेछ ।

    विश्वकपमा १४ टोली सहभागी भए पनि अन्तिम चरणमा १२ टोली रहनेछन् । ग्लोबल क्वालिफायरमा पहिलो स्थान पाउने टोली विश्वकपको अन्तिम चरणमा प्रवेश गर्नेछ । दोस्रोदेखि चौथो स्थानमा रहने टोलीले सुरुवातको प्रिमिलिनरी राउन्ड रोबिनमा प्रवेश गर्नेछन् । यसमा पहिलो हुने टोलीले अन्तिम चरणमा प्रवेश पाउनेछ ।

    वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदल्यान्डस् र ओमान ग्लोबल क्वालिफायरका लागि पक्का भइसकेका टोली हुन् । अन्य चार टोलीको टुङ्गो क्वालिफाइङ प्लेअफबाट लाग्नेछ ।

    कहिले हुँदैछ क्वालिफाइङ प्लेअफ ?

    क्वालिफाइङ प्लेअफ आउँदो डिसेम्बर १ देखि २२ मा हुँदैछ । डिभिजन २ मा पुछारका चार टोली नामिबिया, नेपाल , क्यानडा र संयुक्त अरब इमिरेट्सका साथमा इटाली र युगान्डा पक्का भइसकेका छन् । अन्य दुई टोलीको टुङ्गो भने अक्टोबरको अन्त्यमा लाग्नेछ ।

    यी ८ टोलीबीच हुने एकल राउन्ड रोबिनमा शीर्ष चार स्थान पाउने टोलीले ग्लोबल क्वालिफायरमा मौका पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images