images
images
  • उपाधि जिताउन सफल रसेल, विराटनगरलाई बनाउलान् विजेता ?

    काठमाडौं- दुई पटकका आईसीसी विश्वकप टी २० विजेता आन्द्रे रसेल यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्समा आवद्ध भएका छन् । रसेलको उपस्थितिसँगै विराटनगरको टोली थप शक्तिशाली बनेको छ ।

    रसेलले सन् २०१२ र २०१६ मा वेस्ट इन्डिजलाई विश्वकप दिलाएका थिए । तल्लो क्रमका विस्फोटक ब्याट्सम्यान रसेल पार्टटाइम बलर समेत हुन् । उनी डेथ ओभरमा प्रभावकारी मानिन्छन् । उनीबाट प्रेरित वेस्ट इन्डिजले सन् २०१२ मा भएको टी २० विश्वकप फाइनलमा श्रीलङ्कालाई हराउँदै उपाधि जितेको थियो । त्यस विश्वकपमा भने रसेल उपाधि विजेता टोलीमा रहे पनि प्रदर्शन स्तरीय थिएन ।

    आईपीएलमा भने उनको उपस्थिति सानदार रहेको छ । सन् २०१४ र २०२४ मा उनी आवद्ध कोलकाता नाइट राइडर्सले उपाधि जितेको थियो । उनी सन् २०१५ र २०१९ मा मस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

    उनले आइपीएलमा २ हजार रन पूरा गर्ने तथा १०० विकेटको पनि दुर्लभ सफलता हात पारेका छन् ।

    सन् २०१९ मा रोयल च्यालेन्जर बङ्गलोरविरुद्धको खेलमा रसेलले गरेको धुवाँदार ब्याटिङ भने धेरैलाई याद छ । चिन्नास्वामी रङ्गशालामा कोलकाताले २०६ रनको लक्ष्य पाएको थियो । अन्तिम १८ बलमा ५३ रन त झन् असम्भव झैँ देखिएको थियो । त्यस समयमा ब्याटिङ गरेका रसेलले ७ छक्का र एक चौका प्रहार गरेपछि ५ बल बाँकी रहँदा नै उनको टीम खेल जित्न सफल भयो ।

    सन् २०१८ मा चेन्नाई सुपर किङ्ससँगको खेलमा उनले ३६ बलमा ८८ रन प्रहर गरे । सातौं अर्डर वा सोभन्दा तल रहेर ब्याटिङ गर्नेमध्ये यो नै उच्च योगफल हो ।

    सन् २०२४ को आईपीएलमा सनराइजर्स हैदरावादसँगको खेलमा उनले २५ बलमा ६४ रन प्रहार गरेका थिए । सोही खेलमा उनले २ महत्त्वपूर्ण विकेट लिएपछि कोलकाता हैदरावादलाई ४ रनले हराउन सफल भयो ।

    उनको उत्कृष्ट बलिङ भने सन् २०२१ मा मुम्बई इन्डियन्ससँग हो । सो खेलमा उनले १५ रन खर्चेर ५ विकेट लिएका थिए । उनले दुई ओभरमा नै उक्त ५ विकेट लिएका थिए ।

    नाइट राइडर्स समूहका प्रभावशाली खेलाडी रसेल सोही समूहअन्तर्गतको ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व गर्दै क्यारेबियन लिग खेलिसकेका छन् । जमैका तालावासको तर्फबाट भने उनले क्यारेबियन लिगको उपाधि जितिसकेका छन् ।

    उनले नाइड राइडर्सअन्तर्गत रहेका लस एन्जलस नाइट राइडर्स र अबुधाबी नाइट राइडर्सको पनि प्रतिनिधित्व गरिसकेका छन् ।

    इस्लामावाद युनाइटेडको तर्फबाट पाकिस्तान सुपर लिग जितेका उनले सिड्नी थन्डर्सलाई बिग बासको उपाधि दिलाइसकेका छन् । उनले कोमिला भिक्टोरियन्सलाई बङ्गलादेश प्रिमियर लिगको उपाधि दिलाइसकेका छन् ।

    -एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images