images
images
  • आईसीसी विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल विजयी

    काठमाडौं- नेपाल क्रिकेट टीमले अन्ततः प्लेअफविनै एकदिवसीय मान्यता जोगाउने सम्भावना जीवित राखेको छ । लिग- २ को अन्तिम खेलमा ओमानलाई १० रनले हराएसँग नेपाल तालिकाको छैटौं स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाउने सम्भावना बढाएको हो ।

    अघिल्लो खेलमा क्यानडासँग पराजित भएको नेपाल सातौं स्थानमा झरेको थियो । जसको क्षतिपूर्ति आज ओमानलाई हराएर नेपाल पुनः छैटौं स्थानमा उक्लिँदै एकदिवसीय मान्यता जोगाउने सम्भावना बढाएको हो ।

    यससँग नेपालले ३६ खेलबाट २० अंक जोडेर तालिकाको छैटौं स्थान उक्लिएको छ । समान ३६ खेलबाट २९ अंक बटुलेको क्यानडा सातौं स्थानमा घटुवा भएको छ ।

    आज नेपालसँग पराजित भए पनि ओमान ३३ अंकका साथ तालिकाको चौथो स्थानमै यथावत रहेको छ ।

    सोमबार टस जितेर ब्याटिंगमा आएको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा ५० ओभरमा अलआउट हुँदै २८० रनको योगफल तयार गरेको थियो ।

    नेपालको लागि पूर्वकप्तान रोहितले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाए । दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाउँदा ओपनर देवले ६५ बलमा ४ चौका र १ छक्कासहित ५७ रनको योगदान दिए ।

    त्यस्तै बसिर अहमदले ७ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए ।

    बलिंगतर्फ ओमानका शाह फेसलले ८ ओभरमा ५७ रन दिएर ५ विकेट लिए । जय ओडेराले ३ तथा समय श्रीवास्तवले २ विकेट लिए ।

    जवाफी व्याटिंगमा आएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानका लागि जतिन्दर सिंहले ७ चौका र १ छक्काको मद्दतमा ८९ रन बनाए । त्यस्तै ५ चौका र ३ छक्काको मद्दतमा हम्माद मिर्जाले ८७ रनको योगदान दिए ।

    नेपालका लागि सर्वाधिक ललित राजवंशी र दीपेन्द्रसिंहले समान २-२ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र नन्दन यादवले १-१ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images