काठमाडौं- अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । ‘द न्युयोर्क टाइम्स’ का अनुसार अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन् ।
इरानी रिभोलुसनरी गार्ड कर्पस्का प्रवक्ता हुसेन मोहेबीले अमेरिकासँग ‘सबै बमकी आमा’ भनिने शक्तिशाली बम रहेको उल्लेख गर्दै इरानले त्यसको जवाफमा ‘सबै बमका पिता’ देखाउने चेतावनी दिएका छन् । तर इरानले उक्त हतियारको स्वरूप र क्षमताबारे खुलाएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत पिक्याक्स माउन्टेन आणविक केन्द्रमा २२ हजार पाउन्ड तौलको एमओएबी बम प्रयोग गर्ने विचार गरेको भन्ने प्रतिवेदनपछि इरानको चेतावनी आएको हो ।
यद्यपि विशेषज्ञहरूले उक्त बमले ग्रेनाइट चट्टानभित्र रहेको केन्द्र नष्ट गर्न सक्नेमा शङ्का व्यक्त गरेका छन् । ट्रम्पले नयाँ आक्रमणलाई स्वीकृति दिन्छन् वा दिँदैन भन्ने अझै स्पष्ट छैन ।
अमेरिकाले नोभेम्बरको सुरुसम्ममा तीन विमानवाहक युद्धपोत, हजारौं नौसैनिक, लडाकू विमान र विशेष सैन्य बलसहित ठूलो सैन्य शक्ति तयारी अवस्थामा राख्ने योजना बनाएको छ ।
यसैबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियानले दबाब र युद्धका बाबजुद आफ्नो देश दृढ रहने बताएका छन् ।
इरानले सम्भावित नयाँ युद्धको असर ऊर्जा पूर्वाधार र व्यावसायिक ढुवानीमा मात्र सीमित नहुने चेतावनी दिएको छ । इरानी अधिकारीहरूका अनुसार द्वन्द्व डाटा केन्द्र र समुद्रमुनिका इन्टरनेट केबलसम्म फैलिन सक्छ ।
केही अमेरिकी योजनाकारले तीन दिनको आक्रमणले इरानलाई वार्तामा सहुलियत दिन बाध्य पार्न सक्ने ठाने पनि अघिल्लो अमेरिका-इजरायल आक्रमणले ऊर्जा मूल्य र मुद्रास्फीति बढाएको तथा क्षेत्रीय सुरक्षा कमजोर पारेको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिका र इजरायलको सैन्य तयारी तथा कूटनीतिक प्रयास जारी रहँदा ट्रम्पको अन्तिम निर्णय र इरानको सम्भावित प्रतिक्रियाबारे अनिश्चितता कायमै छ । सम्भावित आक्रमणले पश्चिम एसियामा व्यापक युद्ध निम्त्याउन सक्ने चिन्ता बढेको छ ।





















