images
images
  • जेलेन्स्कीको आरोप- अमेरिकाले युक्रेनका स्वीकृत इन्टरसेप्टर मिसाइलको आपूर्ति रोक्यो

    काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर मिसाइलको आपूर्ति जानाजानी रोकेको आरोप लगाएका छन् । उनको आरोपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनको बढ्दो मतभेदलाई थप गहिरो बनाएको छ ।

    जेलेन्स्कीले सोमबार अमेरिकी सिनेटरहरूसँगको कुराकानीमा युरोपेली देशहरूले युक्रेनको आवश्यकता सूची (पीयूआरएल) कार्यक्रमअन्तर्गत भुक्तानी गरिसकेका मिसाइलको आपूर्ति अमेरिकी रक्षा मन्त्रालयले ढिलाइ गरिरहेको बताए । उनका अनुसार ती मिसाइल पठाउन अमेरिकी रक्षामन्त्री पीट हेगसेथको हस्ताक्षर आवश्यक छ ।

    युरोपेली देशहरू आफ्नै भण्डारबाट प्याट्रियट इन्टरसेप्टर मिसाइल युक्रेनलाई उपलब्ध गराउन तयार भए पनि अमेरिकी स्वीकृति नपाएको जेलेन्स्कीले बताए ।

    उनले मिसाइल तयार भइसकेको र स्वीकृति प्राप्त भएको भए ती युक्रेनमा पुगिसक्ने उल्लेख गर्दै यसले युक्रेनलाई दिइने सहयोग सुस्त बनाउन राजनीतिक निर्णय भएको सङ्केत गरेको बताए ।

    रुससँगको युद्धमा अमेरिकी समर्थनप्रति प्रश्न उठाउँदै किएभले वासिङ्टनले मस्कोलाई मिसाइल आक्रमणबारे चेतावनी दिन नसकेको आरोप लगाएको छ । युक्रेनले सञ्चारका लागि प्रयोग गर्ने स्टारशील्ड प्रणालीमा गरिएको परिवर्तनले आफ्नो सैन्य प्रतिकारमा बाधा पुगेको पनि जनाएको छ ।

    तर अमेरिकाले युक्रेनसँगको गुप्तचर साझेदारीमा कुनै परिवर्तन नगरेको बताउँदै आएको छ ।

    अर्को महिना प्रमुख मध्यावधि निर्वाचनको सामना गर्न लाग्नुभएका राष्ट्रपति ट्रम्पले भने युक्रेनका रुसी तेल प्रशोधन केन्द्रमाथिका आक्रमणले तेल आपूर्तिमा दबाब सिर्जना गरेको र इन्धनको मूल्य बढाएको आरोप लगाएका छन् । अमेरिकामा बढ्दो इन्धन मूल्य निर्वाचनको प्रमुख मुद्दामध्ये एक बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images