images
images
  • करिब ५ अर्ब रुपैयाँको ‘फ्यान्टेसी ब्रा’ लगाएर काइली जेनरको मोडलिङमा डेव्यु, बन्यो बहसको विषय

    १८ क्यारेट सुन र ४ हजार ४१० वटा हिरा जडेर बनाइएको थियो ब्रा

    काठमाडौं– रियालिटी टीभी स्टार काइली जेनरले ५० मिलियन डलर (करिब ४ अर्ब ७४ करोड ६३ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर ‘भिक्टोरियाज सेक्रेट फ्यान शो’ मा डेब्यू गरेपछि मिश्रित प्रतिक्रिया पाएकी छन् ।

    मेकअप दुनियाकी चर्चित हस्ती जेनरले आइतबार आयोजना गरिएको यो प्रसिद्ध ब्रान्डको वार्षिक शोमा बहुचर्चित ‘फ्यान्टेसी ब्रा’ लगाएर दर्शकहरूलाई चकित पारिन् । डिजाइनरका अनुसार यो ब्रा १८ क्यारेट सुन र ४ हजार ४१० वटा हिरा जडेर बनाइएको हो ।

    ‘फ्यान्टेसी ब्रा’ धेरै वर्षदेखि यस शोको मुख्य आकर्षण रहँदै आएको छ । यो ब्रा पहिरन पाउनुलाई कुनै पनि मोडलका लागि ठूलो सम्मान र जीवनकै एक महत्त्वपूर्ण क्षण मानिन्छ ।

    २९ वर्षीया यी कार्दशियन स्टारले उक्त ब्रा लगाउन पाएकोमा उनका केही प्रशंसकहरू खुसी भए पनि धेरैजसो मानिसहरूले भने ब्रान्डको आलोचना गरेका छन् । उनीहरूको भनाइमा यो अवसर कुनै अनुभवी सुपरमोडललाई दिइनुपथ्र्यो ।

    सोशल मिडिया तथा मार्केटिङ विज्ञ जोएल मार्लिनारसनका अनुसार यो क्षण निकै व्यवस्थित तरिकाले योजना बनाइएको थियो । यसले ‘मोडलङ र सोसल मिडियाको भविष्य’ कस्तो हुन्छ भन्ने विषयमा ठूलो चर्चा जन्माएको छ ।

    जोएलले बीबीसी न्युजबिटसँग कुरा गर्दै भने, ‘काइलीले निश्चित रूपमा सेलिब्रिटी संसारको एउटा नयाँ युगको प्रतिनिधित्व गर्छिन् । जहाँ ब्रान्डहरूले परम्परागत रूपमा को मोडल हो भन्ने कुराभन्दा पनि कसले धेरै मानिसको ध्यान खिच्न सक्छ भन्ने कुरालाई प्राथमिकता दिइरहेका छन् ।’

    kylie jenner bra

    मार्लिनारसनका अनुसार युवा पुस्ताका दर्शकहरू जेनरसँग नजिक महसुस गर्छन् । किनभने उनीहरूले जेनरलाई सोसल मिडिया र उनको रियालिटी शोमा उनका कार्दशियन दिदीबहिनीहरूसँग हेर्दै हुर्केका हुन् ।

    तथापि उनले दर्शकहरूको एउटा यस्तो वर्ग पनि रहेको बताए, जसले “फ्यासनको ऐतिहासिक नाओमी क्याम्पबेल युग” सम्झन्छन् र उनीहरूका लागि जेनरलाई यो अवसर दिनु ब्रान्डको “विश्वासघात” जस्तै लाग्नसक्छ ।

    मार्लिनारसनले अगाडि भने, ‘अन्ततः यसले मार्केटिङको नयाँ युगलाई देखाउँछ, जहाँ ब्रान्डहरू खासगरी भिक्टोरियाज सेक्रेट जस्ता पुराना ब्रान्डहरू कुनै जोखिम लिन चाहँदैनन् । उनीहरू यस्तो व्यक्ति ल्याउन चाहन्छन्, जसले सबैको ध्यान खिच्न सकोस्, समाचारमा छाउन सकोस् र निरन्तर मानिसहरूलाई आकर्षित गर्न सकोस् । भिक्टोरियाज सेक्रेटले ठ्याक्कै त्यही गर्यो ।’

    भिक्टोरियाज सेक्रेटको इन्स्टाग्राम पेजमा सेयर गरिएको भिडियोको कमेन्टमा केही प्रशंसकहरूले जेनरको नयाँ र आकर्षक लुक्सको तारिफ गर्दै उत्साह जनाएका थिए ।

    तर अर्कातर्फ धेरैले यसलाई ‘वास्तविक मोडलहरूको अपमान’ भन्दै ‘प्रतिभाशाली मोडलहरूले भरिएको कोठा’ बाट काइलीलाई नै किन चुनियो भनेर प्रश्न उठाएका छन् ।

    एकजना प्रयोगकर्ताले त यो शो “ऐतिहासिक ग्ल्यामरबाट सोसल मिडिया इन्फ्लुएन्सरको सर्कसमा परिणत भएको” टिप्पणी गरे । उनका अनुसार सोसल मिडियाको प्रभाव र सबैलाई समावेश गरेको देखाउने नाटकले वास्तविक मोडलहरूको प्रतिभा, शालीनता र रनवेको उपस्थिति (क्याटवल्क क्षमता) लाई पछाडि पारिदिएको छ ।

    भिक्टोरियाज सेक्रेटका मुख्य क्रिएटिभ अफिसर एडम सेलम्यानले ‘भोग’ सँग कुरा गर्दै जेनर एक ‘सांस्कृतिक शक्ति’ भएकाले उनलाई छानिएको बताए ।

    उनले भने, ‘काइली वास्तवमा फ्यासन, संस्कृति, टीभी र कुनै एक विधाभन्दा निकै माथि छिन् । हामी पनि ठ्याक्कै यही गर्छौं । यो शो धेरै ठूलो छ, यो साँच्चिकै एउटा मनोरञ्जन हो र मलाई लाग्छ, उनी यसका लागि एकदमै उपयुक्त व्यक्ति हुन् ।’

    २५ वर्षीया ब्रिटिश मोडल समर नेस्बेथले न्युजबिटलाई प्रतिक्रिया दिँदै जेनरलाई छानेर भिक्टोरियाज सेक्रेटले युवा पुस्तासँग जोडिने प्रयास गरेको आफूले बुझ्न सक्ने बताइन् ।

    न्यूयोर्क फ्यासन विकमा क्याटवल्क गरिसकेकी नेस्बेथ भन्छिन्, ‘उनी निकै शक्तिशाली इन्फ्लुएन्सर हुन् र अहिले हामी सोसल मिडियाको युगमा छौं ।’

    सन् २०१८ मा कम रेटिङ र व्यापक आलोचनापछि यो ब्रान्डको क्याटवल्क शो रद्द गरिएको थियो । त्यतिबेला यस शोलाई लैंगिक विभेदकारी, पुरानो सोच भएको र विविधताको कमी भएको आरोप लागेको थियो ।

    त्यसपछि सन् २०२४ मा ‘सबै महिलाहरूको सम्मान गर्ने’ बाचासहित यो शो पुनः सुरु भयो, जसमा प्लस-साइजबीचकी मोडल एश्ले ग्राहमसहित धेरै विविध पृष्ठभूमिीका प्रतिभाहरूलाई समावेश गरियो ।

    भिक्टोरियाज सेक्रेटले यस वर्षको ‘फ्यान्टेसी ब्रा’ बहुमूल्य गहना ब्रान्ड ‘ज्याकोब एन्ड कम्पनी’ सँगको सहकार्यमा तयार पारेको हो । उक्त गहना ब्रान्डका अनुसार यो अहिलेसम्मकै सबैभन्दा महँगो ब्रा हो र यसलाई तयार पार्न १५ जना कालिगडहरूलाई १ हजार घन्टाभन्दा बढी समय लागेको थियो ।

    नेस्बेथ भने यति महँगो ब्रामा मानिसहरूको ध्यान केन्द्रित हुनुले समाज कति विरक्त र फरक बाटोमा छ भन्ने देखाउँछ भन्ने ठान्छिन् ।

    उनी भन्छिन्, ‘संसारमा मानिसहरूले खाना खान पाइरहेका छैनन्, घरको बिजुलीको बिल तिर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा हामीले कहाँ ध्यान दिइरहेका छौँ र हाम्रो पैसा कहाँ खर्च गरिरहेका छौँ भन्नेबारे सोच्न जरुरी छ ।’

    – नाओमी डी सूजा र मिया चहल

    बीबीसी हिन्दीबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images