काठमाडौं– भारतमा जारी कक्रोच जनता पार्टीको आन्दोलनमा सरिक भएका कारण यसको असर कला क्षेत्रमा समेत पर्न थालेको छ । स्टार कलाकार आमीर खानका भाञ्जा इमरान खानलाई देश छाड्न भनिएको छ । सरकारले उनलाई भारत छाड्न अक्टोबर २८ सम्मको समय दिएको हो ।
इमरान खान अमेरिकी नागरिक हुन् । उनी ओभरसिज सिटिजन नागरिकता (ओसीआई) मा भारतमा बसोबास गर्दै आएका छन् ।
प्रहरीका अनुसार निर्वाचन सुधार र निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै अगस्टमा भएको प्रदर्शनमा उनी सहभागी थिए । खानका वकिलले भने यसको विरुद्धमा उनले उच्च अदालतमा निवेदन दिनेछन् ।
खानले ओसीआई कार्ड होल्डर प्रदर्शनमा सहभागी हुन नपाउने कुनै नियम नभएको बताए ।
खानलाई धेरैले सन् २००८ मा रिलिज भएको कमेडी हिट फिल्म ‘तु या जानेना’का कारण चिन्ने गरेका छन् । उनका मामा आमीर खानलाई भारतमा स्टार बनाउने ‘कयामत से कयामत तक’ मा बाल कलाकारको रूपमा उनले कला क्षेत्रमा प्रवेश गरेका थिए । सन् १९८८ मा ‘कयामत से कयामत तक’ पछि उनले सन् १९९२ मा ‘जो जिता उही सिकन्दर’ मा पनि अभिनय गरेका थिए ।

सन् २००८ मा भने उनले मुख्य भूमिकामा डेब्यु गरेका हुन् । त्यसपछि नै उनले ‘आई हेट लभ स्टोरी’, ‘मेरे ब्रदर कि दुलहन’ तथा ‘दिल्ली पार्टी’मा अभिनय गरेका छन् ।
बीचको एक दशक हराएपछि उनी नेटफ्लिक्स फिल्म ‘अधुरे हम अधुरे तुम’ का लागि भारत आएका थिए । अक्टोबर १० को दिन भारतमा ठुलो प्रदर्शन भएको थियो । भारतको नागरिक नभए पनि इमरान खान सो प्रदर्शनमा सहभागी भएको आरोप प्रहरीको छ ।
भारतीय जनता पार्टीका स्थानीय किरित सोमाइयाले उनको विरुद्ध जाहेरी दिएपछि प्रहरीले यो कदम चालेको हो ।
खानले भने आफू भारतीय भएका कारण यहाँको हरेक विषयमा चासो राख्नु स्वतन्त्र हक भएको बताउँदै यसमा कसैले दख्खल दिन नमिल्ने बताएका छन् । आफू कुनै सङ्गठनको सदस्यको रूपमा आन्दोलनमा सहभागी नभएको उनले बताएका छन् ।
प्रदर्शनमा सहभागी भएकामध्ये उनीसहित धेरै जनालाई प्रहरीले गिरफ्तार गरेर छाडेको थियो । उनले प्रहरी भ्यानमा बसेको फोटो इन्सटाग्राममा राख्दै ‘म चलाउँदै छु’” भनेर मजाक उडाएका थिए । सामाजिक सञ्जालमा २० लाख बढीले यसमा प्रतिक्रिया दिएका थिए ।
सीजेपीको आह्वानमा एक सातायता भारतका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
–एजेन्सीहरुको सहयोगमा






















