images
images
  • हलिउडमा ऐतिहासिक मर्जरः ११० अर्ब डलरमा प्यारामाउन्टले लियो वार्नर ब्रदर्सको स्वामित्व

    काठमाडौं – प्यारामाउन्ट स्काइडान्सले ११० अर्ब डलरको मर्जरमार्फत वार्नर ब्रदर्स डिस्कभरीलाई आधिकारिक रूपमा आफ्नो स्वामित्वमा लिएको छ। यस ऐतिहासिक सम्झौताले हलिउड तथा समग्र मिडिया क्षेत्रको परिदृश्यलाई नै नयाँ आकार दिने अपेक्षा गरिएको छ।

    लस एन्जलसका दुई ठूला स्टुडियोहरू एकीकरण गर्ने यो अधिग्रहण महिनौंसम्मको कानुनी विवाद, सम्भावित कटौती तथा बजार एकाधिकारले प्रतिस्पर्धा र उपभोक्तालाई हानि पुर्‍याउन सक्ने व्यापक आलोचनाका बीच सम्पन्न भएको हो।

    यस मर्जरले करोडौं दर्शकका लागि स्ट्रिमिङ सेवामा परिवर्तन ल्याउनेछ, चलचित्र र टेलिभिजन उद्योगमा नयाँ अध्यायको सुरुवात गर्नेछ र अमेरिकाको प्रमुख समाचार संस्था सीएनएनलाई अन्योलपूर्ण भविष्यतर्फ मोडिदिएको छ।

    यस सम्झौताले एचबीओ, सीबीएस, नाइकलोडेन, शो टाइम, कमेडी सेन्ट्रल, डिसी स्टुडियो र फुड नेटवर्क जस्ता चर्चित मिडिया ब्रान्डहरूलाई एकै ठाउँमा ल्याएको छ।

    यससँगै प्यारामाउन्टले ह्यारी पोटर, गेम अफ थ्रोन्स, द लर्ड अफ द रिङ्स र मिसनस् इम्पोसिबल जस्ता विश्वविख्यात र प्रतिष्ठित फ्रान्चाइजीहरूको स्वामित्व हासिल गरेको छ।

    भर्खरै एकीकृत भएको यो मनोरञ्जन संस्थानलाई ‘स्काइडान्स कर्पोरेसन’ को रूपमा पुनः ब्रान्डिङ गरिनेछ। यो कम्पनी मूल रूपमा डेभिड एलिसनले प्यारामाउन्ट र वार्नर ब्रदर्स डिस्कभरी दुवैलाई सम्हाल्नु अघि स्थापना गरेका थिए। स्काइडान्सका अध्यक्ष तथा प्रमुख कार्यकारी एलिसनले यो सम्झौताको समापन चलचित्र उद्योगका लागि ‘ऐतिहासिक’ भएको बताएका छन्।

    ‘सुरुदेखि नै हाम्रो महत्त्वाकाङ्क्षा यी दुई ऐतिहासिक स्टुडियोहरूलाई एक ठाउँमा ल्याई प्रतिभाशाली जनशक्ति, स्रोतसाधन र व्यापक पहुँचयुक्त बलियो प्रतिस्पर्धी खडा गर्नु थियोस जसले हरेक विधा र प्लेटफर्ममा विश्वभरका दर्शकका लागि उत्कृष्ट कथाहरू पस्कन सकून्। अब त्यो महत्त्वाकाङ्क्षा यथार्थमा परिणत भएको छ’, उनले भने।

    गत हप्ता एलिसनले म्याटेलका निवर्तमान प्रमुख कार्यकारी यनोन क्रेइजलाई सह(प्रमुख कार्यकारीका रूपमा नियुक्त गरेका थिए। क्रेइजले कम्पनीको दैनिक सञ्चालन तथा भर्खरै एकीकृत व्यवसायहरूको समायोजनमा ध्यान केन्द्रित गर्नेछन् भने एलिसनले कम्पनीको रणनीति र प्रविधितर्फ नेतृत्व सम्हाल्नेछन्।

    बीबीसीका पूर्वमहानिर्देशक मार्क थम्पसनले ‘सीएनएन वर्ल्डवाइड’ को अध्यक्ष र प्रधान सम्पादकको भूमिका निरन्तर सम्हाल्नेछन् भने बारी वेइस ‘सीबीएस न्यूज’ को प्रधान सम्पादकका रूपमा रहनेछन्।

    यसैगरी एचबीओ र म्याक्स कन्टेन्टको नेतृत्व गरिसकेका केसी ब्लोज ‘डाइरेक्ट-टु-कन्जुमर’ (सिधै उपभोक्तामाझ पुग्ने) सामग्रीका लागि सहअध्यक्ष र प्रमुख कन्टेन्ट अधिकारी हुनेछन्।

    फरेस्टर रिसर्चका अनुसन्धान निर्देशक माइक प्राउल्क्सका अनुसार यस परिवर्तनको मूल अर्थ अब एचबीओको नेतृत्व टोलीले स्काइडान्सको एकीकृत स्ट्रिमिङ सञ्चालनको जिम्मेवारी सम्हाल्नेछ भन्ने हो।

    ‘यद्यपि यसले एचबीओ ब्रान्डका लागि राम्रो सङ्केत गर्छ, तर ब्लोजमाथि लागत कटौती गर्ने र मितव्ययिता अपनाउने ठूलो दबाब हुनेछ, जसले सामग्रीको गुणस्तरलाई असर गर्न सक्छ’, उनले चेतावनी दिएका छन्।

    एजे बेलका बजार प्रमुख ड्यान कोटस्वर्थले उच्च ब्याजदरको वर्तमान अवस्थामा एकीकृत कम्पनीमाथि ठूलो ऋणको बोझ रहेको औँल्याए।

    ‘अब स्काइडान्स नाम दिइएको यो कम्पनीले ऋणलाई व्यवस्थापन गर्न सकिने स्तरमा झार्नका लागि लागत कटौती गर्न र अझ बढी नाफा कमाउन आवश्यक छ’, उनले भने, ‘मर्जर हुनुभन्दा ठीक अघि वार्नर ब्रदर्सबाट रिलिज भएको टम क्रुजको चलचित्र ‘डिगर’ नराम्रोसँग असफल हुनुले चलचित्र उद्योगमा सफलता वा अपार धनको कुनै निश्चित ग्यारेन्टी हुँदैन भन्ने कुराको पुनः स्मरण गराएको छ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images