शिशिर सिखडा
टोरोन्टो– क्यानडाको ब्राम्पटन शहरमा आज शनिबार ‘तेश्रो नेपाल फेस्टिवल–२०२६’ आयोजना हुँदैछ। लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा हुने यस महोत्सवले नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, खानाका परिकार, हस्तकला तथा स्वदेशी उत्पादनको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।
आयोजक संस्थाका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक विश्व अधिकारीका अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ। कार्यक्रमस्थललाई नेपाली झण्डा, सांस्कृतिक ब्यानर तथा आकर्षक सजावटले सिँगारिएको छ।

ब्राम्पटनस्थित शपर वर्ल्ड कम्प्लेक्सको प्राङ्गणमा क्यानडाको स्थानीय समयअनुसार दिउँसो १ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुने महोत्सवमा नेपाली खानाका परिकारसहित करिब ३० भन्दा बढी व्यावसायिक तथा सामाजिक स्टल रहनेछन्। महासचिव तथा मूल समारोह समितिका सदस्य धर्म न्यौपानेका अनुसार महोत्सवले नेपाली समुदायलाई एकै थलोमा जोड्ने अवसर प्रदान गर्नेछ।
महोत्सवमा गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, मधेसीलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा लाखे नाच विशेष आकर्षणका रूपमा प्रस्तुत गरिनेछ।
प्रवेश तथा पार्किङ दुवै निःशुल्क रहेको कोषाध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए। आयोजकका उपाध्यक्ष तथा मूल समारोह समितिका सदस्य श्याम अर्यालका अनुसार महोत्सवमा १० हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।

यसअघि पनि लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबले ब्राम्पटनमा पहिलो र दोस्रो नेपाल फेस्टिवल सफलतापूर्वक आयोजना गरिसकेको थियो। यस वर्षको महोत्सवको उद्घाटन क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलले गर्ने कार्यक्रम छ। कार्यक्रममा क्यानडाका सिटिजन्स तथा मल्टिकल्चरल मन्त्री ग्राहाम म्याकग्रेगर, संघीय सांसद सोनिया सिद्धु, अमनदीप तथा एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटालगायत विभिन्न विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ।
खेम सेन्चुरीको विशेष सांगीतिक प्रस्तुति
महोत्सवको प्रमुख आकर्षणका रूपमा लोकप्रिय लोकगायक तथा संगीतकार खेम सेन्चुरीको विशेष सांगीतिक प्रस्तुति रहनेछ। नेपाली लोकसंगीतमा आफ्नै पहिचान बनाएका सेन्चुरीले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।
उनका लोकप्रिय गीतहरूमा ‘म त ढलेँ ढलेँ’, ‘मायालाई पानको पात’, ‘सोचेझैँ जिन्दगी रैनछ’, ‘झ्यालमा पर्दा छ’, ‘लरिलरिलै’, ‘उखु गुलियो’, ‘नन्दनी’, ‘कपालु कोरेर’, ‘हान्छु तिमीलाई लौरीले’, ‘जाम साईंली’, ‘सुर्ती माड्दै माड्दै गयो जोवन’, ‘अरेली काँडैले’, ‘कमाउने नि हो’, ‘तिमीलाई पछ्यौरी किनिदिऊँला’ र ‘तीजै रमाइलो’ रहेका छन्। विशेषगरी ‘म त ढलेँ ढलेँ’, ‘मायालाई पानको पात’, ‘सोचेझैँ जिन्दगी रैनछ’ र ‘झ्यालमा पर्दा छ’ उनका सर्वाधिक लोकप्रिय गीतमध्ये पर्छन्।

यसका साथै गायक चेतन सापकोटा, लोकगायिका देविका केसी, गायक मानसिंह खड्का, अर्जुन कुमार, बिन्दा परियार, आशीर्वाद सुवेदीसहित एक दर्जनभन्दा बढी कलाकारले गीत, संगीत र नृत्यमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ।
नेपाली समुदायलाई सांस्कृतिक रूपमा एकताबद्ध गर्दै नेपालको मौलिक पहिचान अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना हुन लागेको तेश्रो नेपाल फेस्टिवल–२०२६ ब्राम्पटनस्थित नेपाली समुदायका लागि यस वर्षको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवका रूपमा हेरिएको छ।





















