images
images
  • अभिनेता इमरान खानलाई मुम्बई उच्च अदालतको आदेश– भविष्यमा कुनै पनि प्रदर्शनमा सहभागी नहोऊ

    काठमाडौं– मुम्बई उच्च अदालतले अभिनेता इमरान खानलाई प्रदर्शनमा सहभागी भएको विषयमा विनासर्त माफी माग्न निर्देशन दिएको छ। अदालतले उनलाई भविष्यमा कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धतासहितको शपथपत्रसमेत पेस गर्न भनेको छ।

    अभिनेता इमरान खान मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजित विरोध प्रदर्शनमा सहभागी भएका थिए। देशमा सञ्चालन भइरहेको विशेष गहन पुनरवलोकन (एसआईआर) प्रक्रियाको विरोधमा उक्त प्रदर्शन गरिएको थियो।

    लाइभ लको रिपोर्टअनुसार अदालतले इमरान खानलाई विनासर्त माफी माग्न निर्देशन दिनुका साथै भविष्यमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने लिखित प्रतिबद्धता पेस गर्न भनेको हो।

    यसैबीच अदालतले विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) ले इमरान खानविरुद्ध जारी गरेको ‘लिभ इन्डिया नोटिस’ कार्यान्वयनमा रोकलाई निरन्तरता दिएको छ। उक्त रोक उनलाई नोटिसबारे आफ्नो जवाफ पेस गर्ने अवसर नदिएसम्म कायम रहनेछ।

    इमरान खानले एफआरआरओ, मुम्बईले जारी गरेको उक्त नोटिसलाई चुनौती दिँदै मुम्बई उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। नोटिसमा उनलाई अक्टोबर २८ भित्र भारत छाड्न भनिएको थियो।

    यसअघि भएको सुनुवाइका क्रममा एफआरआरओले सोमबारसम्म इमरान खानविरुद्ध कुनै कारबाही नगर्ने प्रतिबद्धता अदालतसमक्ष जनाएको थियो।

    मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश महेशचन्द्र त्रिपाठी र न्यायाधीश अद्वैत सेठना सम्मिलित संयुक्त इजलासले अभिनेता इमरान खानलाई विनासर्त माफी माग्न लगाउने बताएको थियो।

    अदालतले यसको कारण स्पष्ट पार्दै इमरान खान ओसीआई (ओभरसिज सिटिजन अफ इन्डिया) कार्डधारक रहेको र एसआईआर प्रक्रियासँग उनको प्रत्यक्ष सम्बन्ध नरहेको उल्लेख गरेको छ। त्यसैले उनी यस्तो विरोध प्रदर्शनमा सहभागी हुन नहुने अदालतको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images