काठमाडौं– अमेरिकामा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको लगावलाई निरन्तर आफ्ना सिर्जनामार्फत अभिव्यक्त गर्दै आएका गीतकार बद्री दाहाल ‘अनन्त’ को नयाँ गीत ‘पानी खोलाको’ सार्वजनिक भएको छ ।
दाहाल अमेरिकास्थित अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) केन्टकी च्याप्टरका संस्थापक अध्यक्षसमेत हुन् । लामो समयदेखि कविता लेखनमा सक्रिय उनी पछिल्ला समयमा गीत रचनातर्फ पनि उत्तिकै सक्रिय देखिएका छन् ।
गीत सिर्जनाप्रतिको आफ्नो आकर्षणबारे दाहाल भन्छन्, ‘कविता लेख्दै जाँदा गीतले मलाई अझ बढी आकर्षित गर्यो । आफ्ना भावना संगीतमार्फत छिट्टै धेरै श्रोता–दर्शकमाझ पुर्याउन सकिने भएकाले गीत लेखनमा झन् प्रेरित भएँ ।’
उनकै शब्द र निर्माणमा तयार भएको ‘पानी खोलाको’ गीतमा संगीतकार केवल थिङ (लामा) को संगीत रहेको छ भने अनुभवी संगीतकार सचिन सिंह ले संगीत संयोजन गरेका छन् । गीतलाई गायक राजु तामाङ र गायिका मेलिना राईले स्वर दिएका छन् । दुवैको सुमधुर गायनले गीतलाई थप आकर्षक बनाएको छ ।
गीतको भिडिओमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री ज्योति खड्काको अभिनय देख्न सकिन्छ । भट्टराई नेपाली म्युजिक भिडिओ तथा चलचित्र क्षेत्रमा परिचित कलाकारका रूपमा स्थापित छन् भने ज्योति खड्का उदाउँदी अभिनेत्रीका रूपमा आफूलाई स्थापित गर्ने यात्रामा छिन् ।
अभिनेत्री खड्काबारे भिडिओका निर्देशक नवल नेपाल भन्छन्, ‘ज्योतीमा नेपाली चलचित्र उद्योगको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्न सक्ने क्षमता देखिन्छ । अभिनय, नृत्य र क्यामेरासामु प्रस्तुत हुने आत्मविश्वासमा उनी निकै अब्बल छिन् । निरन्तर मेहनत र सही अवसर पाए नेपाली सिने क्षेत्रमा उनले राम्रो स्थान बनाउने विश्वास छ ।’
भिडिओको छायांकन ईश्वर सिंकेमनले गरेका हुन् भने सम्पादन नहकुल खड्काको रहेको छ । मौलिक परिवेश, आकर्षक दृश्य संयोजन र संगीतको सन्तुलित प्रस्तुतिका कारण भिडिओले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
‘पानी खोलाको’ भिडिओ ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संगीतलाई निरन्तर योगदान दिइरहेका बद्री दाहाल ‘अनन्त’ को यो नयाँ सिर्जनाले नेपाली मौलिक गीत–संगीतप्रेमीमाझ छुट्टै स्थान बनाउने विश्वास निर्माण टिमले लिएको छ ।
हेर्नुहोस् भिडिओ–


विश्व खबर 


















