काठमाडौं – नेपाल धितोपत्र बोर्डले जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर (आईपीओ) निष्कासनलाई थप व्यवस्थित र जोखिममुक्त बनाउन आयोजना विकासको अवस्थाका आधारमा सात चरणमा वर्गीकरण गर्ने तयारी गरेको छ । बोर्डले तयार गरिरहेको नयाँ निर्देशिकामा आयोजना सर्वेक्षणदेखि व्यावसायिक उत्पादनसम्मको प्रगतिलाई आधार बनाएर कम्पनीको आईपीओ निष्कासन योग्यता निर्धारण गर्न लागेको हो ।
ऊर्जा क्षेत्रका कम्पनीहरूको आईपीओसम्बन्धी निर्देशिकाको मस्यौदाअनुसार जलविद्युत् आयोजना विकासको अवस्थालाई सात चरणमा विभाजन गरेको छ । पहिलो र दोस्रो चरणमा रहेका कम्पनी आईपीओ निष्कासनका लागि अयोग्य हुनेछन् भने तेस्रो चरणदेखि मात्रै कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनेछन् । बोर्डले आयोजना विकासको चरणसँगै कम्पनीको वित्तीय अवस्था, कानुनी प्रक्रिया, संस्थागत सुशासन, वातावरणीय प्रभाव मूल्यांकन र प्राविधिक तयारीलाई समेत मूल्यांकन गर्ने व्यवस्था गर्न लागेको छ । प्रस्तावित व्यवस्थाअनुसार आईपीओ निष्कासनको अनुमति पाउन कम्पनीले मूल्यांकनमा कम्तीमा ७० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ ।
प्रस्तावित निर्देशिकाले जलविद्युत् आयोजनाको सर्वेक्षण अवधिलाई पहिलो चरणमा राखेको छ । नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् उत्पादन अनुमति प्राप्त गरेको अवस्थालाई दोस्रो चरणका रूपमा वर्गीकरण गरिएको छ । यी दुवै चरणमा रहेका कम्पनीलाई आईपीओ निष्कासनका लागि अयोग्य मानिनेछ । आयोजना विकासको प्रारम्भिक अवस्था र लगानीको जोखिमलाई ध्यानमा राख्दै बोर्डले यस्तो व्यवस्था गर्न लागेको हो ।
तेस्रो चरणमा पुगेका कम्पनी भने आईपीओ निष्कासनका लागि योग्य हुन सक्नेछन् । यस चरणमा कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट वित्तीय स्रोतको सुनिश्चितता गरिसकेको हुनुपर्नेछ । साथै विद्युत् नियमन आयोगले तोकेको न्यूनतम प्रगति हासिल गरेको र वित्तीय व्यवस्था तथा आयोजनाको प्रगति प्रमाणीकरण भएको हुनुपर्नेछ । यस व्यवस्थाले आयोजना निर्माणका लागि आवश्यक लगानी सुनिश्चित नगरेका वा पर्याप्त प्रगति हासिल नगरेका कम्पनीलाई सर्वसाधारणबाट पुँजी जुटाउने प्रक्रियामा प्रवेश गर्न रोक्ने आशा गरेको छ ।
आयोजना निर्माणमा प्रवेश गरिसकेका कम्पनीलाई चौथो चरणमा वर्गीकरण गरिनेछ। यस चरणमा आयोजनाको निर्माण प्रगति, बाँकी काम र लागतको मूल्यांकन गरिने प्रस्ताव छ । पाँचौं चरणमा परीक्षण तथा सञ्चालन तयारीमा रहेका आयोजना समावेश हुनेछन्। छैटौं चरणमा व्यावसायिक उत्पादन सुरु गरिसकेका आयोजना रहनेछन् भने सातौं चरणमा सञ्चालनमा रहेका आयोजनालाई वर्गीकरण गर्ने तयारी गरिएको छ । आयोजनाको विकास र सञ्चालन अवस्थालाई छुट्टाछुट्टै चरणमा राख्दा कम्पनीको वास्तविक प्रगति र जोखिम पहिचान गर्न सहज हुने बोर्डको अपेक्षा छ । यसले लगानीकर्तालाई कम्पनीको अवस्था बुझ्न र लगानीसम्बन्धी निर्णय गर्न थप आधार उपलब्ध गराउनेछ ।
धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३ को मस्यौदामा सेयर निष्कासन गर्नुअघि कम्पनीले निरन्तर व्यवसाय सञ्चालन गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको छ । यद्यपि व्यवसाय सञ्चालनको न्यूनतम अवधि उद्योग वा क्षेत्रअनुसार फरक हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। यही प्रावधानका आधारमा जलविद्युत् कम्पनीहरूका लागि छुट्टै मापदण्ड तयार गर्न लागिएको हो ।
बोर्डका अध्यक्ष गोपाल भट्टका अनुसार प्रस्तावित चरणका आधारमा कम्पनीहरू आईपीओ निष्कासनका लागि योग्य हुनेछन् । तर आईपीओ जारी गर्ने तयारीमा रहेका कम्पनीहरूको एकैसाथ स्कोरिङसमेत गरिनेछ । कम्तीमा ७० प्रतिशत स्कोर प्राप्त गर्ने कम्पनीले मात्रै आईपीओ निष्कासनको अनुमति पाउने भट्टले बताएका छन् । कम्पनीको स्कोरिङ गर्दा कानुनी प्रक्रिया पूरा भए–नभएको, जलविद्युत् कम्पनीको हकमा प्रविधि आयातको अवस्था, वित्तीय स्रोत जुटेको वा नजुटेको, वातावरणीय प्रभाव मूल्यांकन र संस्थागत सुशासनलगायतका विषयलाई आधार बनाइनेछ। यस व्यवस्थाले आयोजना विकासको चरणमा रहेका कम्पनीबीच प्रतिस्पर्धात्मक मूल्यांकन गर्ने र तुलनात्मक रूपमा तयारी पूरा गरेका कम्पनीलाई प्राथमिकता दिने उद्देश्य राखेको छ ।
बोर्डले आईपीओ जारी गर्ने तयारीमा रहेका कम्पनीका सेयर बिक्री प्रबन्धकले कम्पनीको वित्तीय अवस्था स्पष्ट हुने गरी भिडियो तयार पारेर सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरेको छ । यसबाट सर्वसाधारण लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, आयोजना विकासको प्रगति र लगानीसम्बन्धी जोखिमबारे जानकारी प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । बोर्डले आगामी २३ मंसिरमा सरकारले आयोजना गर्न लागेको दुईदिने पूर्वाधार सम्मेलनअघि नै निर्देशिका तयार गर्ने योजना बनाएको छ । निर्देशिका जारी भएपछि जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासन प्रक्रियामा नयाँ मापदण्ड लागू हुने अपेक्षा गरिएको छ ।
जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासनका लागि नयाँ मापदण्ड तयार भइरहे पनि प्रतिसेयर नेटवर्थसम्बन्धी विवाद भने अझै टुंगिएको छैन। धितोपत्र बोर्डले अहिले पनि प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासनको अनुमति नदिने नीति अपनाउँदै आएको छ । बोर्डका एक अधिकारीका अनुसार संघीय संसद्को सार्वजनिक लेखा समितिले दिएको निर्देशनका कारण प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ हुनुपर्ने व्यवस्था पालना गर्नुपर्ने अवस्था छ। प्रतिसेयर १०० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने वा नदिने विषय लामो समयदेखि विवादमा छ ।
२०८० पुस १२ गते प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासनको अनुमति नदिन निर्देशन दिएको थियो। केही बिमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गरेको विषयमा परेको उजुरीको सुनुवाइका क्रममा समितिले यस्तो निर्देशन दिएको थियो । त्यसपछि २०८२ जेठमा प्रतिनिधिसभाको अर्थ समितिले भने कानुनी मापदण्ड पूरा गरेका कम्पनीको आईपीओ प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । प्रतिसेयर नेटवर्थलाई आईपीओ निष्कासनको अनुमतिको अनिवार्य मापदण्ड बनाउने व्यवस्था कानुनमा स्पष्ट रूपमा नभए पनि सार्वजनिक लेखा समितिको निर्देशनविपरीत निर्णय गर्न नसकिने बोर्डको भनाइ छ । यससँगै जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासनमा आयोजना विकासको चरण, वित्तीय तयारी र संस्थागत सुशासनलाई आधार बनाउने नयाँ व्यवस्था अघि बढे पनि नेटवर्थसम्बन्धी विवाद भने कायम रहने देखिएको छ । —कान्तिपुर






















