काठमाडौं– सर्वोच्च अदालतले सरकारसँग लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्नुको कारण मागेको छ ।
आनीको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै बुधबार सवोच्चले निर्णय कानुनी रूपमा उचित छ कि छैन भन्ने विषयमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङलाई उपाध्यक्षमा नियुक्त गर्नुको आधार र कारणसहित उपस्थित हुन नेपाल सरकार, लुम्बिनी विकास कोषलगायत विपक्षीका नाममा आदेश जारी गरेको छ । अदालतले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्नसमेत विपक्षीहरूलाई बोलाएको छ ।
आनी छोइङको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई सार्वजनिक पदमा नियुक्त गरिएको भन्दै नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाइएको थियो ।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) बमोजिम डोल्मालाई कोषको उपाध्यक्षमा मनोनीत गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेसँगै नियुक्तिको कानुनी आधार र योग्यतासम्बन्धी विवाद अब न्यायिक छलफलको विषय बनेको छ ।






















