images
images
  • नासाले क्षुद्र ग्रहमा अन्तरिक्ष यान ठोक्काएपछि के भयो ? अध्ययन गर्दै युरोपेली अन्तरिक्ष एजेन्सी

    काठमाडौं– अन्तरिक्षमा भएको एउटा अभूतपूर्व ठक्करबाट क्षुद्र ग्रहमा पुगेको क्षतिको अनुसन्धान गर्न अन्तरिक्ष यान उक्त क्षुद्र ग्रहमा पुगेको छ । विपत्तिमा आधारित चलचित्रको कथा जस्तो सुनिए पनि सन् २०२२ मा अमेरिकी अन्तरिक्ष निकाय-नासाको डार्ट अन्तरिक्ष यानले जानाजानी एउटा अन्तरिक्ष चट्टानमा ठक्कर दिँदै त्यसको गति र दिशा परिवर्तन गर्ने प्रयास गरेको थियो ।

    ठक्करपछि नासाको अन्तरिक्ष यान पूर्ण रूपमा नष्ट भएको थियो । त्यसको चार वर्षपछि युरोपेली अन्तरिक्ष एजेन्सीको हेरा नामक अभियानले उक्त घटनास्थलको सूक्ष्म अध्ययन गरिरहेको छ । ठक्करपछि क्षुद्र ग्रहमा परेको प्रभावबारे विस्तृत मूल्याङ्कन गर्न थालिएको हो । यस अभियानको पहिलो तस्बिर समेत सार्वजनिक गरिने तयारी छ ।

    उक्त क्षुद्र ग्रहले पृथ्वीलाई कुनै खतरा भने पुर्‍याएको छैन । बरु अन्तरिक्षबाट कुनै चट्टान पृथ्वीतर्फ आइरहेको अवस्थामा त्यसलाई रोक्न वा दिशा परिवर्तन गर्न के गर्न सकिन्छ भन्ने परीक्षणका लागि यो मानव इतिहासकै पहिलो ग्रह रक्षा अभ्यास थियो ।

    युरोपेली अन्तरिक्ष एजेन्सीको हेरा अभियानका प्रमुख अनुसन्धानकर्ता प्याट्रिक मिसेलले भने, ‘हेरा भनेको दुर्घटनास्थलमा फर्किएर ठक्करको परिणामबारे अनुसन्धान गर्ने इन्स्पेक्टर कोलम्बो जस्तै हो ।’

    यो परीक्षण दुई वटा क्षुद्र ग्रहलाई केन्द्रमा राखेर गरिएको थियो । तीमध्ये ठुलो क्षुद्र ग्रहको नाम डिडिमोस हो, जसको चौडाइ करिब ७३० मिटर (२ हजार ४०० फिट) छ । यसको वरिपरि अर्को सानो चट्टान डाइमोर्फोस परिक्रमा गरिरहेको छ, जसको चौडाइ करिब १५० मिटर (४९० फिट) छ ।

    नासाको डार्ट अन्तरिक्ष यानले डाइमोर्फोसलाई लक्ष्य बनाएको थियो । प्रतिघण्टा २२ हजार किलोमिटर (१४ हजार माइल) को गतिमा उक्त क्षुद्र ग्रहमा ठोक्किएको अन्तरिक्ष यानले पठाएका तस्बिरमा चट्टानी सतह क्रमशः नजिकिँदै गएको देखिएको थियो । ठक्कर हुनासाथ तस्बिर प्रसारण बन्द भएको थियो ।

    यो ठक्कर यति शक्तिशाली थियो कि त्यसबाट निस्किएको करिब १० हजार किलोमिटर लामो धुलो र भग्नावशेषको पुच्छर पृथ्वी तथा अन्तरिक्षमा रहेका दूरबिनबाट समेत देखिएको थियो ।

    यस ठक्करले सानो क्षुद्र ग्रहको मार्ग परिवर्तन गर्न सम्भव रहेको प्रमाणित गरेको थियो । ठक्कर हुनुअघि डाइमोर्फोसले डिडिमोसको एक परिक्रमा पूरा गर्न ११ घण्टा ५५ मिनेट लगाउँथ्यो । तर डार्टको ठक्करपछि यसको परिक्रमा अवधि करिब ३३ मिनेटले घटेको थियो ।

    यद्यपि दोस्रो अन्तरिक्ष यान हेराको आगमनले वैज्ञानिकहरूलाई यस घटनाबारे थप धेरै प्रश्नको उत्तर खोज्न सहयोग गर्नेछ । मिसेलका अनुसार डार्ट क्षुद्र ग्रहमा ठोक्किएर विस्फोट भएकाले त्यसको अन्तिम अवस्था कस्तो छ भन्नेबारे पर्याप्त जानकारी उपलब्ध छैन ।

    उनले भने, ‘ठक्करका कारण त्यहाँ खाडल बनेको हुन सक्छ । यदि त्यसो हो भने त्यसको आकार र गहिराइ बुझ्न आवश्यक छ अथवा उक्त ठक्करले क्षुद्र ग्रहको समग्र आकार र बनोट नै परिवर्तन गरिदिएको पनि हुनसक्छ ।’

    हेरा अभियानले आगामी एक वर्षसम्म डाइमोर्फोसको अध्ययन गर्नेछ । साथै यसले डिडिमोसलाई पनि अवलोकन गर्नेछ । अन्तरिक्ष यानमा विभिन्न वैज्ञानिक उपकरण जडान गरिएका छन् । यसका अतिरिक्त यसमा जुत्ताको बाकस जत्रा आकारका दुई वटा साना उपग्रह पनि छन् । ती उपग्रहले ठक्कर परेको स्थानको नजिकबाट अध्ययन गर्नेछन् र पछि क्षुद्र ग्रहमा अवतरणसमेत गर्न सक्नेछन् ।

    यस अभियानको एउटा प्रमुख उद्देश्य डाइमोर्फोसको पिण्ड मापन गर्नु हो । यसबाट अन्तरिक्ष यानले दिएको धक्काले क्षुद्र ग्रहको दिशा परिवर्तन गर्न कत्तिको प्रभाव पारेको थियो भन्ने पत्ता लगाउन सकिनेछ ।

    भविष्यमा पृथ्वीसँग ठोक्किन सक्ने कुनै अन्तरिक्ष चट्टान पहिचान भएमा यो जानकारी अत्यन्त महत्त्वपूर्ण हुनेछ ।

    हेरा अभियानको विज्ञान टोलीमा रहेका ग्रह वैज्ञानिक प्राध्यापक साइमन ग्रिनले भने, ‘अर्को कुनै क्षुद्र ग्रहमा ठक्कर दिनुपरेमा त्यसबाट के परिणाम आउन सक्छ भन्ने अनुमान गर्न यसले हामीलाई सहयोग गर्नेछ ।’

    उनका अनुसार क्षुद्र ग्रहको विशेषता मापन गरेर पृथ्वीलाई जोगाउन कति पिण्ड भएको अन्तरिक्ष यान आवश्यक पर्छ, त्यसलाई कति गतिमा पठाउनुपर्छ र पृथ्वीमा ठोक्किनुअघि कति समय अगावै प्रहार गर्नुपर्छ भन्ने निर्धारण गर्न सकिनेछ ।

    एक किलोमिटरभन्दा बढी चौडाइ भएका ठुला क्षुद्र ग्रहले विश्वव्यापी विनाश निम्त्याउन सक्छन् । डाइमोर्फोसकै आकारका मध्यम खालका क्षुद्र ग्रहले कुनै एउटा सहर नै ध्वस्त पार्न सक्छन् ।

    डार्ट र हेरा दुवै अभियानमा काम गरिरहेकी जोन्स हप्किन्स एप्लाइड फिजिक्स ल्याबोरेटरीकी क्यारोलिन अर्न्स्ट ले भनिन्, ‘डाइनोसरको के हालत भएको थियो भन्ने हामी सबैलाई थाहा छ, होइन र ? हामीमाथि त्यस्तो घटना दोहोरियोस् भन्ने चाहँदैनौँ ।’

    उनका अनुसार राहतको कुरा के छ भने लाखौँ वर्षअघिको तुलनामा अहिले सौर्यमण्डलमा सम्भावित खतरनाक क्षुद्र ग्रहको सङ्ख्या निकै कम छ । तैपनि केही जोखिमपूर्ण वस्तुहरू अन्तरिक्षमा रहेका छन् ।

    उनले भनिन्, ‘सबैभन्दा ठुला क्षुद्र ग्रहहरू पहिचान भइसकेका छन् र तीमध्ये कुनै पनि पृथ्वीतर्फ आइरहेका छैनन् ।’

    उनका अनुसार सबैभन्दा साना अन्तरिक्ष चट्टानबाट खासै ठुलो खतरा छैन, किनकि पृथ्वीको वायुमण्डलले तिनलाई रोक्न सक्छ ।

    ‘तर बीचको आकारका केही क्षुद्र ग्रह छन्, जसको अवस्थिति हामीलाई पूर्ण रूपमा थाहा छैन । ती पृथ्वीमा ठोक्किएमा मानवताका लागि समस्या निम्त्याउन सक्छन् । यदि हामीले तिनको पहिचान गर्न र अवस्थाबारे जानकारी हासिल गर्न सक्यौँ भने तिनलाई रोक्ने प्रयास अवश्य गर्न चाहन्छौँ’, उनले भनिन् ।

    ब्रह्माण्डबाट आउन सक्ने सम्भावित खतराको सामना गर्न आफूहरूलाई सक्षम बनाउन वैज्ञानिकहरूले अन्तरिक्षका चट्टानबारे सकेसम्म धेरै जानकारी सङ्कलन गर्न चाहेका छन् ।

    सम्भावित रूपमा खतरनाक क्षुद्र ग्रहहरूको खोजी तथा निगरानी गर्न सन् २०२७ मा नयाँ अभियान सुरु हुँदैछ । यस अभियानअन्तर्गत नियर अर्थ अब्जेक्ट सर्भेयर नामक अन्तरिक्ष दूरबिन प्रक्षेपण गरिनेछ ।

    त्यस्तै वैज्ञानिकहरूले अन्य क्षुद्र ग्रहको भ्रमण गर्ने योजना पनि बनाएका छन् । तीमध्ये एउटा एपोफिस नामक क्षुद्र ग्रह हो, जसको लम्बाइ करिब ४५० मिटर (१ हजार ४८० फिट) छ ।

    सन् २००४ मा पत्ता लागेको एपोफिसले सन् २०२९ अप्रिल १३ मै पृथ्वीमा ठक्कर दिन सक्ने प्रारम्भिक अनुमान गरिएको थियो । अहिले वैज्ञानिकहरूले यसको परिक्रमा मार्गबारे अझ राम्रोसँग बुझिसकेका छन् । उनीहरूका अनुसार आगामी कम्तीमा १०० वर्षसम्म यसले पृथ्वीमा ठक्कर दिने सम्भावना छैन ।

    सन् २०२९ मा पृथ्वीमा ठोक्किनुको सट्टा यो पृथ्वीको सतहबाट करिब ३२ हजार किलोमिटर (२० हजार माइल) माथिबाट पार हुनेछ ।

    यसले वैज्ञानिकहरूलाई एउटा अन्तरिक्ष चट्टानको निकै नजिकबाट अध्ययन गर्ने दुर्लभ अवसर प्रदान गर्नेछ । एपोफिसको अध्ययनका लागि दुई वटा अन्तरिक्ष यान पठाइनेछन् । तीमध्ये एउटा नासाको ओसिरिस–एपेक्स हो । यस अन्तरिक्ष यानले यसअघि बेन्नु नामक अर्को क्षुद्र ग्रहबाट नमुना सङ्कलन गरेको थियो ।

    अर्को अन्तरिक्ष यान रामसेस हो, जुन युरोपेली अन्तरिक्ष एजेन्सी र जापानको अन्तरिक्ष निकायको संयुक्त अभियान हुनेछ ।

    – एजेन्सी/वासिङ्टन

    प्रतिक्रिया दिनुहोस्
    images
    images