केपी शर्मा ओली अब एमालेको भविष्य होइन, एमालेको राजनीतिक संकटको एउटा प्रमुख कारण बनिसक्नुभएको छ भन्ने बहस गर्ने बेला आएन र कमरेडहरू ! यो भन्दा ओलीका कट्टर समर्थक, उहाका साईवर स्यालहरू लाई त चित्त दुख्न सक्छ, मुटु फुटन सक्छ तर सत्य कुरा लेख्न बोल्न तयार हुने नै सच्चा कमरेड हो ! निर्वाचनको तथ्याङ्कले अब उहाँको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत अर्थात् २६.९५ प्रतिशत मत प्राप्त गरेको थियो। तर २०८२ को निर्वाचनमा त्यो मत घटेर १४ लाख ५५ हजार ८८५ मा सीमित भयो। झन्डै १३ लाख ९० हजार मतदाता एमालेबाट टाढिए।
पार्टीले आफ्नो समानुपातिक मतको करिब ५० प्रतिशत गुमायो। प्रत्यक्षतर्फ ४४ सिट जितेको पार्टी ९ सिटमा खुम्चियो। कुल ७८ सिटबाट २५ सिटमा झर्नुप¥यो। आफैँलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा गएको पार्टी अध्यक्ष केपी ओलीसमेत झापा–५ मा पराजित हुनुभयो। त्यो पनि एक हजार दुई हजार मतले होइन ५० हजार मतले !
आखिर किन यस्तो भयो? के नेपाली जनता एकाएक कम्युनिस्ट विरोधी भएका हुन् । कि एमालेको नेतृत्व, कार्यशैली र राजनीतिक व्यवहारप्रति जनताको विश्वास घटेको हो? ओलीको राजनीतिक जीवनलाई हेर्दा उहाँले लामो संघर्ष गर्नुभएको छ। झापा आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभएका ओलीले पञ्चायती शासनविरुद्धको आन्दोलनमा भाग लिनुभयो, लामो समय जेल जीवन बिताउनुभयो र २०४६ सालको राजनीतिक परिवर्तनपछि संसदीय राजनीतिमा स्थापित हुनुभयो।
२०७१ सालमा एमाले अध्यक्ष बन्नुभएका उहाँ चारपटक प्रधानमन्त्री हुनुभयो। भारतीय नाकाबन्दीको समयमा राष्ट्रियताको मुद्दा उठाएर लोकप्रियता हासिल गर्नुभयो। चीनसँग पारवहन सम्झौता गर्नुभयो। नेपालको नयाँ राजनीतिक नक्सा जारी गर्ने निर्णयमा नेतृत्वदायी भूमिका खेल्नुभयो। यी योगदानको अवमूल्यन गर्नु हुँदैन। तर इतिहासमा संघर्ष गरेको आधारमा वर्तमानमा सधैँ नेतृत्व गरिरहने अधिकार कसैलाई प्राप्त हुँदैन। उहालाइ राम्रो कामको लागि धन्यवाद भन्ने बेला आएको छ!
पछिल्लो समय सरकार सञ्चालनमा सुशासनको प्रश्न, भ्रष्टाचारका आरोपमा जोडिएका व्यक्तिमाथि प्रभावकारी कारबाही गर्न नसकेको जनधारणा, सत्ताका लागि गरिएका गठबन्धन, पार्टीभित्र फरक मतप्रति असहिष्णु व्यवहार र युवा पुस्ताको आकांक्षालाई बुझ्न नसक्ने प्रवृत्तिले एमालेप्रति निराशा बढाएको देखिन्छ।
जेनजी आन्दोलनपछि पनि आत्मसमीक्षा गर्नुको सट्टा फेरि ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानु राजनीतिक रूपमा अर्को ठूलो गल्ती थियो। एमाले महासचिव शंकर पोखरेलले नै चुनावी पराजयको समीक्षा गर्दा अघिल्लो सरकारको कार्यसम्पादनप्रति जनताको असन्तुष्टि, बदलिँदो जनअपेक्षा बुझ्न नसक्नु, युवा मतदाता आकर्षित गर्न नसक्नु र ओलीलाई भावी प्रधानमन्त्री घोषणा गर्नुले पार्टीलाई रक्षात्मक बनाएको विषय उठाउनुभएको छ।
अब प्रश्न उठ्छ, यति ठूलो पराजयपछि पनि नेतृत्वले जिम्मेवारी नलिने हो भने जिम्मेवारी कसले लिने? एमाले केपी ओलीको निजी राजनीतिक सम्पत्ति होइन। लाखौँ कार्यकर्ता र समर्थकको पसिना र संघर्षबाट बनेको संस्था हो। अब एमालेले नेतृत्व परिवर्तनको साहस गर्नुपर्छ। र त्यसको विकल्पका रूपमा शंकर पोखरेललाई अगाडि सार्नुपर्छ। पोखरेल विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ। अनेरास्ववियुको नेतृत्व, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति, संविधानसभा सदस्य, सञ्चारमन्त्री, लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदै अहिले पार्टी महासचिवको जिम्मेवारीमा हुनुहुन्छ। उहाँसँग राजनीतिक अनुभव, वैचारिक अध्ययन र संगठन सञ्चालनको अनुभव छ। मदन भण्डारीको जनताको बहुदलीय जनवादको वैचारिक धारसँग जोडिएको नेतृत्वका रूपमा पनि उहाँको पहिचान छ।
तर पोखरेलले अब ओलीको छायामा बसेर एमालेको भविष्य निर्माण गर्न सक्नुहुन्न। उहाँले आफ्नो स्वतन्त्र राजनीतिक पहिचान स्थापित गर्नुपर्छ। ओलीको आलोचना गर्नेहरू सबै एमाले विरोधी होइनन् र पोखरेलको नेतृत्वको पक्षमा बोल्नेहरू सबै ओली विरोधी गुटका मानिस पनि होइनन्। नेतृत्व परिवर्तनको बहसलाई गुटको झगडा भनेर पन्छाउनु पार्टीको अर्को भूल हुनेछ। ओलीले आफ्नो योगदानको सम्मानसहित नेतृत्व हस्तान्तरण गर्न सक्नुपर्छ। पार्टी अध्यक्ष बन्नु र पार्टीलाई फेरि जनताको विश्वास जिताउन सक्नु दुई फरक कुरा हुन्।
अहिले एमालेले दोस्रो कुरा प्रमाणित गर्नुपर्नेछ। एउटा प्रश्न एमालेका नेता, कार्यकर्ता र समर्थकलाई, ५० प्रतिशत हाराहारी समानुपातिक मत गुमाएको, प्रत्यक्षतर्फ ४४ बाट ९ सिटमा झरेको र आफ्नै अध्यक्षसमेत चुनाव हारेको अवस्थामा पनि केपी ओलीकै नेतृत्व अनिवार्य छ? कि अब शंकर पोखरेललाई एमालेको नयाँ अध्यक्ष र भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने बेला भयो? मेरो स्पष्ट धारणा छ, एमालेमा अब ओली युगको अन्त्य र शंकर पोखरेलको नेतृत्वमा नयाँ राजनीतिक अध्यायको सुरुवात हुनुपर्छ। असहमत हुनुहुन्छ भने तथ्य र तर्कसहित बहस गरौँ।






















