images
images
  • टिकटक बनाउने ‘सर-मिस’लाई प्रोत्साहित गर्ने कि !

    लक्ष्मण शर्मा

    अफिसमा काम गर्नेहरूलाई भदौ महीना अलि फुर्सदिलो हुन्थ्यो, यसपालि त बिदाहरू झनै बढे । फेसबुक, टिकटक हेर्दै जाँदा मलाई महिला शिक्षकहरूले तीजका र अन्य गीतमा छोटा भिडियो बनाएर पोस्ट गरेको दृश्य घत लाग्यो । लगातारजसो- सय वटा जति हेरें । केही साथीहरूसँग ‘युवा शिक्षकहरू कति धेरै सिर्जनशील भएछन्’ भनेर शेयर पनि गरें । तर प्रतिक्रिया मिश्रित पाएँ । एक जना प्रअ साथीले आफ्नो विद्यालयका ‘मिसहरूको ध्यान टिकटकमा मात्र छ’ भनेर असन्तुष्टि देखाए । माध्यमिक तहमा गणित पढाउने एक युवा शिक्षकले चाहिं त्यो सीप र उत्साहलाई शैक्षिक प्रयोजनका लागि प्रोत्साहित गर्नुपर्ने बताए । त्यसपछि मेरा विद्यार्थी बहिनीहरू जो अहिले शिक्षक छन्, तिनीहरूसँग कुरा गरें । तिनले शुरुमा संकोच माने । तर सम्भावनाको कुरा गरेपछि उत्साही भएर धेरै कुरा शेयर गरे । मलाई यही विषयमा यहाँ अलिक बढी छलफल गरौं भन्ने लाग्यो ।

    नेपालको पहाडी भेगका प्रायःजसो माध्यमिक विद्यालयमा भलिबल भएपछि अतिरिक्त क्रियाकलापको माग लगभग पूरा हुन्थ्यो । ‘टिफिन टाइम’मा स्कूलको चउर वा आँगनमा भलिबल खेल्ने खेलाउने चलन पुरानै हो । छात्राहरूका निम्ति खेल्ने कुरा केही हुन्नथ्यो । विद्यालयहरूमा संगीत सिकाउने चलन खासै छैन । नियमित त हैन; उत्सवहरूको बेला छात्राहरूलाई नाच्न चाहिं केही सिकाइन्थ्यो । महिला शिक्षकहरूको संख्या बढेपछि आजकल उनीहरू पनि नाचेको देखिन्छ । त्यसैले, आम प्रकृतिका सार्वजनिक विद्यालयहरूबाट नेपालमा खेलाडी, कलाकर्मी उत्पादन हुने सम्भावना न्यून रहन्छ । प्राविधिक सीप र जीवनमा त्यसको प्रयोगको बारेमा त कुरै नगरौं ।

    अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद; हिज्जे, निबन्ध लेखन र चित्रकला जस्ता बौद्धिक उन्नयनमा सघाउने कार्यक्रमको पनि हाम्रा सार्वजनिक विद्यालयहरूमा अभाव छ । शिक्षा निःशुल्क बनाउने रहर र नीतिहरूले गर्दा अलि अलि भरथेग गर्ने सम्भावनाका ढोका पनि बन्द भएका छन् । आम रूपमा भौतिक स्रोतसाधन, विषय शिक्षक, शैक्षिक स्रोत सामग्री, शिक्षक विद्यार्थी सहयोग कार्यक्रम, प्रविधि र नवप्रवर्तनमा त्यस्ता अभाव मज्जाले झल्किन्छन् । यसले गर्दा, धेरैजसो विद्यालयले विद्यार्थीको लागि पाठ्यक्रममा आधारित सिकाइका दायराहरू खुम्च्याएर पाठ्यपुस्तकमा आधारित र अझ साँघुरो गरी परीक्षा-लक्षित शिक्षण गर्नु परेको छ । परीक्षामुखी र तालीम जस्तो पढाइको पक्ष लिने व्यवस्थापन समिति, विद्यार्थीलाई कक्षामा थुनेर पढ पढ भन्न पाउँदा गर्व गर्ने प्रधानाध्यापक र शिक्षकहरू भएपछि त्यहाँ विद्यार्थी बाहेक सबैको स्वार्थ मिल्छ । यस्तो अवस्थामा हुर्केका विद्यार्थीहरू उच्च शिक्षा वा रोजगारीको सिलसिलामा अन्यत्र जाँदा आफ्नो कमजोर सिकाइ महसुस गर्दछन् । आफू सरहका साथीले खेलहरू खेल्न, नाच्न, अनेक खाले बाजा बजाउन, कम्प्युटर र इन्टरनेटका धेरै सीप जानेको देखेर अनौठो मान्दछन् र आफ्नो विद्यालय-शिक्षाको सीमितता बुझ्दछन् । तर सुधार गर्न ढिलो भइसकेको हुन्छ ।

    सबैजसोलाई थाहा छ, अतिरिक्त र बौद्धिक क्रियाकलापले बालबालिकाको समग्र व्यक्तित्व विकासमा योगदान पु¥याउँछ । यसबाट बालबालिकाले सामाजिकीकरण हुने, योजना बनाउने, निर्णय गर्ने र नेतृत्व लिने, स्वयंसेवी बन्ने, सहयोग गर्ने, द्वन्द्व व्यवस्थापन गर्ने जस्ता धेरै सीप आर्जन गर्न सक्छन् । उनीहरूले आफ्नो संवेगलाई व्यवस्थित गर्न सिक्छन्; तनाव, आक्रोश र रिस-रागहरू घटाउन सिक्छन् । हाम्रो शिक्षामा यी सीप र व्यवहारहरूको सिकाइ-अभाव स्पष्ट देखिएको छ ।

    टिकटक लगायतका प्लाटफर्महरूको रचनात्मक प्रयोगका निम्ति सीप, जाँगर र रहर भएका शिक्षकहरूलाई प्रोत्साहन गरिनुपर्छ; तालिम दिइनुपर्छ, अझ प्रभावकारी बन्न उत्साहित गर्नुपर्छ ।

    मैले तीन दशक जति शिक्षक तथा प्रधानाध्यापक भएर काम गरें । त्यसैले माथि लेखिएका कुराहरू मेरो अनुभवमा आधारित छन् । मैले काम गरेको ग्रामीण भेगको विद्यालयमा अनेक भौतिक, शैक्षिक र मानव स्रोतको अभावका माझमा विषय शिक्षक जुटाएर कक्षा सञ्चालन गर्नु नै ठूलो कुरा थियो । फेरि त्यस्तै विद्यालयबाट हुर्केर आएका हामी शिक्षकहरूसँग पनि सिकाउन सक्ने पर्याप्त ज्ञान, सीप थिएन । विद्यालय विस्तार हुँदै गएपछि मैले एउटा जुक्ति निकालें । प्राथमिक तहमा पढाउने शिक्षकहरू प्रायःजसो स्थानीय नै हुनाले तिनको विकल्प हुँदैनथ्यो । तर, माध्यमिक तहमा पढाउने शिक्षकहरू नियुक्ति गर्दा वा सरुवा गरेर ल्याउँदा ‘विषय शिक्षण बाहेक तपाईंसँग विद्यार्थी र विद्यालयका लागि काम लाग्ने थप के के सीपहरू छन् ?’ भनेर सोध्न थालें । शिक्षक छनोट गर्दा अतिरिक्त ज्ञान र सीपहरूलाई पनि अंक दिन थालियो ।

    यो रणनीतिले विद्यालयपछि शिक्षकको नियुक्तिसँगै विशेष प्रतिभाहरू भित्रिन थाले । जिल्लाका एक प्रख्यात भलिबल खेलाडी गणित शिक्षक बनेर आउनुभयो । त्यसैगरी धेरैथरी बाजा बजाउन सक्ने, गाउन सक्ने अंग्रेजी शिक्षक र बौद्धिक क्रियाकलापमा रुचि भएका विज्ञान शिक्षकहरू पाइयो । औसत क्षमता र रुचि भएका पुराना शिक्षक पनि कस्सिएर उहाँहरूसँग जुट्न थाल्नुभयो । व्यवस्थापनका नेताहरूलाई पनि लगानी गर्न उत्साह बढ्यो । पाँच वर्षमा हाम्रा शिक्षकले गरेको मिहिनेतको नतिजा देखिन थाल्यो । विद्यालय- भौतिक पूर्वाधार, विद्यार्थीको आकर्षण र नतिजा आदि सबै क्षेत्रमा चम्कियो । जिल्ला स्तरमा हुने खेलकुद र बौद्धिक प्रतिस्पर्धामा पहिला कहिल्यै सफल नभएको विद्यालयले पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्रहरू चाङ लगाएर ल्याउन थाल्यो । यस्तै उपलब्धिबाट एक दशक बित्दा नबित्दै ‘संघीय तहको नमूना विद्यालय’मा छनोट भयो । अझ अघि बढ्यो । हाम्रोे विद्यालयको प्रगतिमा अरू तत्वहरूको पनि भूमिका होला तर मुख्य योगदान ती विशेष योग्यता, क्षमता र स्वयंसेवी भावना भएका शिक्षकहरूको रह्यो ।

    समय र परिस्थिति बदलिएको छ, अहिले त्यतिले पक्कै पुग्दैन । विद्यालय शिक्षालाई प्रभाव पार्ने तत्वहरूमध्ये धेरै छिटो बदलिएको प्रविधिलाई आत्मसात् गरेर त्यसको प्रयोग गर्नु एउटा प्रमुख खाँचो हो । अहिले प्रविधिको प्रयोग र गति समेट्न ज्ञान, सीप र प्रयोग औपचारिक पाठ्यक्रमबाट मात्र सिकाएर सकिंदैन । यसको दुरुपयोग रोक्न ‘नैतिक र जिम्मेवार प्रयोग’ सम्बन्धी विधा नै खडा भएको छ । बालबालिकालाई प्रविधिको नैतिक र जिम्मेवार प्रयोग सम्बन्धी व्यावहारिक सीपहरू सिकाउने काम नै एउटा महत्त्वपूर्ण अतिरिक्त क्रियाकलाप हुन सक्छ ।

    टिकटक, रिल्स, सट्र्स समेत अनेक एप्सको सामान्य प्रयोग निःशुल्क उपलब्ध छ । यस्तो प्रविधिमा प्रतिबन्ध लगाउने होइन, बरु प्रयोग गर्ने सीप र संस्कार सिकाउनुपर्छ । यो काममा डराई-डराई भिडियो बनाएर अपलोड गर्ने हाम्रा युवा शिक्षकहरूको सहयोग लिनु उपयुक्त हुन्छ ।

    शिक्षामा प्रविधिको प्रयोगका बारेका हाम्रो समाज र परम्परा त्यति प्रगतिशील छैन । विद्यालय जाने उमेरकी मेरी दिदीलाई हजुरआमाहरूले ‘रेडियो सुन्छे’ भनेर कराउनुहुन्थ्यो । त्यसको केही वर्षमा नै विद्यालयमा रेडियो प्रयोग गरेर पढाउन थालियो । म स्कूल जाने उमेरको छँदा ‘टीभी वा भिडियो हेरेको’ भनेर गाली खान्थें । तर पछि शिक्षक भएपछि आफैंले कक्षामा त्यसको प्रयोग गर्नुपर्यो । मैले २०६४/६५ तिर फेसबूक एकाउन्ट बनाउँदा ‘हेडमास्टर आफैं फेसबुक चलाउँछ’ भनेर खिसीटिउरी गर्थे तर पछि खिसीटिउरी गर्ने शिक्षक र व्यवस्थापनका पदाधिकारीहरूको फेसबूक एकाउन्ट खोल्न मैले नै सघाउनुपर्यो । आजकल धेरै महिला र पुरुष शिक्षकले टिकटक चलाउनुहुन्छ र कुरा काट्नेहरूका निम्ति त्यो ‘कन्टेन्ट’ भएको छ ।

    अहिले आधाभन्दा बढी नेपाली जनसंख्या सोसल मिडियामा छ । सोसल मिडियाका कारण टेक्स्टुयल र अडियो भिजुयल सामग्री आदानप्रदान बढी सजिलो र प्रभावकारी भएको छ । टिकटक, रिल्स, सट्र्स समेत अनेक एप्सहरूको सामान्य प्रयोग निःशुल्क उपलब्ध छ । तर यिनको सदुपयोगमा नेपाली युवाको सीप मात्र हैन, जिम्मेवारीबोधमा पनि समस्या हुन्छ । तथापि त्यसको लागि, प्रविधिमा प्रतिबन्ध लगाउने होइन, बरु असल सीप र संस्कार सिकाउनुपर्छ । यो काममा डराई-डराई भिडियो बनाएर सोसल मिडियामा अपलोड गर्ने हाम्रा युवा शिक्षकको सहयोग लिनु उपयुक्त हुन्छ । त्यस बाहेक, विद्यालय भर्ना, कक्षामा अनुपस्थिति, अभिभावक शिक्षा, किशोरी शिक्षा, प्राकृतिक प्रकोपबाट सुरक्षा, क्यारियर काउन्सिलिङ लगायत अनेक क्षेत्र छन्, जहाँ सोसल मिडियाबाट धेरै काम गर्न सकिन्छ । त्यसैगरी, कतिपय विषय शिक्षकले पाठ्यक्रममा आधारित रोचक शिक्षण सामग्रीहरू पनि बनाउन सक्नुहुन्छ । विरसिला पाठहरूलाई गीत, संगीत र नाच मिसाएर रसिलो बनाउन सकिन्छ ।

    त्यसैले सम्भावनाका ढोका बन्द गर्ने हैन, व्यवस्थापन गर्ने हो । टिकटक लगायतका प्लाटफर्महरूको रचनात्मक प्रयोगका निम्ति सीप, जाँगर र रहर भएका शिक्षकहरूलाई प्रोत्साहन गरिनुपर्छ; तालिम दिइनुपर्छ, अझ प्रभावकारी बन्न उत्साहित गर्नुपर्छ । राम्रा श्रव्य-दृश्य सामग्री बनाउनेहरूलाई प्रोत्साहन गर्नका लागि लगानी पनि गरिनुपर्छ । शिक्षकहरूले बनाएका शिक्षण सामग्रीहरूको प्रदर्शनी र प्रतियोगिता गराउन सकिन्छ । पेशागत काममा सोसल मिडिया प्रयोग गर्ने शिक्षकहरूको राष्ट्रिय, क्षेत्रीय तहका नेटवर्क बनाएर अनुभव र सीपहरू आदानप्रदान गर्ने वातावरण बनाउन सकिन्छ । यसरी शिक्षकका विशेष ज्ञान, सीप र जोश-जाँगरलाई विद्यार्थी र विद्यालयको हितमा प्रयोग गर्न सकिन्छ । अर्थात् ‘भाइरल मिस’हरूलाई अझ सिपालु, उत्साही र जिम्मेवार शिक्षक बन्न र बनाउन यो सम्भव छ, सबैले प्रोत्साहित गरौं ।

    (पूर्वप्रअ, सत्यवती मावि, सिद्धलेक- ७, धादिङ)

    -‘शिक्षक मासिक’ कात्तिक-मंसिर २०८३ बाट साभार

    प्रतिक्रिया दिनुहोस्
    images
    images