प्रम बालेन भारत जाँदैछन्। जबजब नेपाली प्रधानमन्त्री भारत जान्छन्, काठमाडौंका परराष्ट्र ‘विज्ञ’हरूको दुकानमा चहलपहल हुन्छ। भारतले यो दिनुपर्छ, त्यो मान्नुपर्छ, यति छुट दिनुपर्छ, उति सुविधा थप्नुपर्छ। मानौँ, भारत कुनै छिमेकी राष्ट्र होइन, नेपाली प्रधानमन्त्रीको भ्रमणको अवसरमा खुल्ने मनचिन्ते क्षमता भएको एटीएम (ATM) हो। नेपालले चाहिँ भारतलाई के दिन सक्छ? यस विषयमा विज्ञहरूको मुखमा ताल्चा लाग्छ।
बालेनजीलाई लामो भारत सरकारसँग सपिङ लिस्ट बोकेर दिल्ली पठाउनुअघि भारतसँग हामी वास्तवमा कस्तो सम्बन्ध चाहन्छौँ भन्ने तय गरौँ।
चुरो कुरा के हो भने नेपाललाई मनमनै भारतसँग शक्तिको असमानता (Asymmetry) को चिन्ता छ। अनि भारतलाई आफ्ना सुरक्षा चासो (Security Concerns) को फिक्री छ। दुबै देशका यी चिन्ता वास्तविक हुन् वा धेरै हदमा काल्पनिक हुन् ? यो बेग्लै विवेचनाको विषय हो। कुनै दिन डकुमेन्ट्री बनाउला।
नेपाल र भारत, दुवैलाई थप आर्थिक सहकार्य चाहिएको छ। अनि हाम्रो शताब्दीयौँ पुरानो सांस्कृतिक, धार्मिक आत्मीयतालाई चाहिँ गैरउत्पादक, नाफा नदिने सामान्य भावना ठानिएको छ। यो जनस्तरमा कायम भावनाहरुको घातक अवमूल्यन हो ।
यसबाहेक नेपाल-भारत सम्बन्धको थप विकासमा अभाव केको छ?
समयअनुकूलको TRUST अर्थात् आपसी विश्वासको। नेपाल-भारत सम्बन्धका बाँकी थोरबहुत जटिलता वा सहजता धेरै हदसम्म यही एउटा शब्दका सहउत्पादन हुन्।
प्रम बालेन शाह दिल्ली जाऊन्। भारतसँग माग्न लामो सपिङ लिस्ट र मन्त्रीहरूको झुन्ड नबोकून्। मोदीजीलाई हिन्दीमा सीधै भनून्, ‘मोदी जी, रिश्ते की गहराई इतिहास ने दी है, अब भरोसे की ऊँचाई हमें मिलकर तय करनी है।’ मैथिलीमा भन्दा पनि हुन्छ ।
बालेनले मोदीसँग हिन्दीमा वा मैथिलीमा कुरा गर्दैमा नेपालको सार्वभौमिकता एक इन्च पनि घट्दैन। तर आपसी भरोसाको भाषामा कुरा गर्न सके नेपाल-भारत सम्बन्ध कैयौँ माइल अगाडि बढ्न सक्छ।
मलाई विश्वास छ, त्यसपछि मोदीजी पनि एक-दुई वाक्य नेपालीमा जरूर बोल्नेछन्। मित्रहरूबीच भरोसा बढेपछि एकअर्काको सपिङ लिस्ट हरबखत, हरदिन चेक गरिरहनु पर्दैन।
सपिङ लिस्ट नबोकेरै पनि, परस्परको इज्जत र सम्मान कायम राखेर मित्रताको कोसेली आदानप्रदान गर्न पनि त सकिन्छ नि ! प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको सफलताको कामना गरौं ।
-वरिष्ठ पत्रकार पाण्डेको फेसबुक वालबाट।-सं.


विजयकुमार पाण्डे 


















